आज विजया दशमी : टीकाको साईत कति बजे छ ?

काठमाडौं – आज विजया दशमी पर्व । सद्भावको चाड । एकताको चाड । हरेक नेपालीलाई एक ठाउँमा ल्याउने चाड । अर्थात, दशैँ । नेपालीहरुको ठूलो चाड हो दशैँ । यतिबेला घरघरमा दशैं आएको छ । एक वर्षको प्रतिक्षा आज समाप्त भएको छ । हरेक नेपालीको घरमा खुसी छाएको छ ।

शरद ऋतुको यो मनमोहक मौसममा बेग्लै रौनक छाएको छ ।

नीलो आकाशमा कोही चंगा उडाइरहेका छन्, कोही पिङमा मच्चिइरहेका छन्, शहरमा अस्थायी बसोबास गर्नेहरु घर–गाउँ फर्किएका छन् । सर्वत्र उल्लास छाएको छ । त्यसैले त, दशैँ आएको छ । त्यसैले त यसको महत्व अत्याधिक छ । नीलो आकाशमा रंगिचङ्गी चंगा, पिङमा मच्चिइरहेका केटाकेटी, गाउँ फर्केका जागीरे, लामो विछोडपछि भेटिएका परदेशी मायालु, गफिदै गरेका अधबैँसे ।

हो, साँच्चै दशैँ खास छ । यो महत्वपूर्ण चाडमा यसपटक कोरोनाको कारण उल्लसमय नभएतापनि मानिसहरुमा बेग्लै आनन्द छ ।

आज विजया दशमी । असोज शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन नौ देवीको पूजापाठ गरि आज विजया दशमी मनाइँदै छ ।

घटस्थापनामा जमरा राखी नवमीसम्म दुर्गा सप्तसती (चण्डी) पाठ गरी नवदुर्गा र शक्तिस्वरुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजासहित प्रसादका रुपमा टीका र जमरा ग्रहण गरिन्छ ।

असत्यमाथि सत्यको जित हुन्छ भन्ने मनो–सामाजिक सन्देश बोकेको यो चाडको आफ्नै विशिष्ट महत्व छ । धार्मिक, सामाजिक, आर्थिक, सांस्कृतिक जुनसुकै कोणबाट दशैँको महिमा गाउन सकिन्छ ।

यसपालीको केहि ढिलो गरी कात्तिक १० गते देवी विसर्जनको साइत बिहान १०ः११ बजे रहेको छ । टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने १०ः १९ बजेको साइत उत्तम हुने नेपाल पञ्चाङ्ग निर्णायक समितीले जनाएको छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ ।

विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । यस वर्ष कोरोनाबाट बच्न घरघरमै सुरक्षित रहेर मान्यजनबाट आशीर्वाद लिनुपर्ने छ । व्यक्तिको शरीर रहे मात्र चाडपर्व मनाउन सकिने भएकाले सुरक्षित तरिकाले दशैँ मनाउन समितिले आह्वान गरेको छ ।

वर्षदिनमा आफन्त, इष्टमित्रबीच सौहाद्रपूर्ण सम्बन्ध स्थापित गर्ने मेलो हो यो । दशैंले ठूलाबडा, मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने सिकाउँछ । यतिबेला दुर्गा पूजा गरिन्छ । दुर्गा शक्तिकी प्रतिक ।

हामीकहाँ तिहारमा लक्ष्मी अर्थात धनकी देवी, सरस्वती पूजा अर्थात विद्याकी देवी र दशैंमा दुर्गाको पूजा गरिन्छ । वास्तवमा, यी तीन कुरा अर्थात शक्ति, विद्या र धन हाम्रो जीवनका लागि महत्वपूर्ण हुन्छन् ।

माता दुर्गाको उपासना र पूजा अर्चना गरी यो पर्व मनाउने गरिन्छ । घटस्थापनादेखि शुरु हुने दशैँ कोजाग्रत पूणिर्माका दिनमा समापन हुन्छ । घटस्थापनादेखि पहिलो नौ दिनसम्म नवरात्री पूजा गरिन्छ ।

दशमी अर्थात् विजयादशमीको दिन आफन्त, इष्टमित्र भेला भएर दुर्गा पूजा गर्ने । मान्यजन तथा आफूभन्दा ठूलाबाट टीका थाप्ने, आशिर्वाद लिने गरिन्छ ।

दशैँमा टीका लगाउँदा संस्कृतका ऋचा उच्चारण गर्दै आशिर्वाद दिइन्छ, चार हरफको ऋचाले गहिरो अर्थ बोकेको छ । यसले विभिन्न पौराणिक पात्रलाई आदर्शका रुपमा उल्लेख गर्दै जीवनलाई सुन्दर बनाउने सूत्र दिएको छ ।

दशैँमा घरमा आफूभन्दा ठूला सदस्यबाट आशिर्वाद लिने चलन छ । अनि मान्यजनका घरमा गएर टिका थापिन्छ । वर्षदिनमा एकपल्ट लामो छुट्टीमा परिवारका साथ मामाघर जान पाउने भएर हुनसक्छ । केटाकेटी दंग देखिन्छन् ।

दशैँको विशेषता
दशैँ दश दिनसम्म विभिन्न तरिकाले रमाइलो गरी मनाइने हुनाले यसलाई दशैँको नामले परिचित गरिएको भन्ने बुझिन्छ ।

घटस्थापनाको दिनमा विभिन्न थरीको विउविजनहरु उमारी नौ दिनसम्म विविधत रुपमा पूजापाठ गरी उमारिएको जमरा दशैँ दिनमा ग्रहण गरिने हुनाले पनि दशैँलाई खास महत्वपूर्ण चाडको रुपमा लिइन्छ ।

दशैँ दिनमा घरपरिवार आफन्तजनहरुसँगै बसी टिका र जमराका साथसाथै आर्शीवाद आदानप्रदान गर्ने चलन छ । दशैँ दिनमा लगाउन शुरु गरिएको टिका पूर्णिमाको दिनसम्म लगाइन्छ । टाढा टाढा भएका आफन्तजन कहाँ जानको लागि मौका मिल्नेछ ।
दशैँ परापूर्व कालदेखि नै मनाउँदै आएको धार्मिक एवम् साँस्कृतिक परम्परा हो । यस पर्वसँग विभिन्न देवी देउताको नामहरु पनि जोडिएको छ । राम र रावणको युद्ध, देवी र महिषासुर आदिसँग जोडिएको पाइन्छ । दशैँमा महालक्ष्मी, सरस्वतीको पूजा गरी शक्ति आर्जन गर्न सकिने विश्वासकै कारण दशैँलाई खासगरी शक्ति र साधनाको रुपमा पनि मनाउन थालिएको हो ।

दशैँमा नयाँ कपडा लगाउने, मासु चिउरा खाने परम्परा नयाँ नभएतापनि आधुनिकताले जरो गाडेको वर्तमानमा भिन्न किसिमले सदिऔँको परम्परामा निखरता प्रदान गरेको अनुभूति दिलाउँछ । आफ्ना आवश्यकतालाई ध्यानमा राखेर मात्र औसत खर्च गर्नु उपयुक्त होला । नत्र दशैँको नाममा ‘दशा’ भित्रन सक्छ ।

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ ।

आज मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोग व्याधमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिक रुपमा समेत पुष्टि भइसकेको छ ।

घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरी आज मान्यजनबाट टीका र प्रसाद लगाउने गरिन्छ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशैँकै सबैभन्दा महत्वपूर्ण दिन हो ।

वरपरका मानिसलाई समेत सजिलो होस् भन्ने हेतुले यो कार्य पूर्णिमा सम्म गरिन्छ । आफ्ना नाता कुटुम्ब ठूलाबडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमता अनुसार मिठो खाना खाने ख्वाउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्गर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ । दशैँ वर्षका तीन अत्यन्त शुभ तिथिहरूमा पर्छन् दसैँ पर्वले दश प्रकारका पापहरू (काम, क्रोध, लोभ, मोह मद, मत्सर, अहङ्कार, आलस्य, हिंसा र चोरी) त्याग्ने छोड्ने प्रेरणा दिन्छन्।

दक्षिण एसियाका धेरै देशमा नेपाल भारत तथा बर्मा भुटान लगायत कृषिप्रधान देशमा जब कृषकले आफ्नो खेतबारीमा अन्न फलाउँछन् र उनीहरुलाई सुखानुभूति हुन्छ । अन्न रूपी सम्पत्ति घरमा ल्याएपछि परिवारसँगै बसेर मिठोमसिनो खाँदा सम्बन्ध बढ्ने विश्वासका साथ यसको महत्व व्यापक बन्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?