२०७७, ९ कार्तिक आईतवार १०:००

भड्किलो बन्दै गएको दशैँमा कोरोनाको छिर्की : कति खर्चिन्थे नेपालीले ?


प्रकाशित मिति : २०७७, ९ कार्तिक आईतवार १०:००

काठमाडौं । दशैँ नेपालीहरुको महान् पर्व हो । तर दशैँ आयो, दशा आयो’ भन्ने नेपालीको जमात सानो छैन । कोरोनाको कहरपछि तातो घाममा लावालस्कर लागेर काठमाडौंदेखि आफ्ना थातथलो हिँडेरै पुग्नेहरु हुन् या अन्य विभिन्न शहरहरुबाट गाउँ फर्किनेहरु । यो दृश्यले नेपालीहरुको आर्थिक स्थीतिको नाडी पक्कै छामेको हो ।

पहिले पहिले मानिसहरुले दशैँमा परिवारको सबै सदस्यको लागि नयाँ लुगा सिलाउने नयाँ सामान जोड्ने मिठोमसिनो खाने गर्दथे । सयुक्त परिवारका भएको कारण स साना उपभोग्य वस्तु खरिदको लागि पनि हम्मेहम्मे पर्ने समय भएकोले त्यतिबेला नै भनिएको थियो ‘घाँटी हेरी हाड निल्नू’ अर्थात् आफ्नो गच्छेअनुसार मात्रै दशैँ तिहार र चाडबाड मान्नु भनेर ।

अहिले समय फेरिएको छ । वर्षमा एकपटक नयाँ लुगा सिलाउने, पेटभरी मासु भात खाने, लामो समयमको फूर्सद, लिंगे पिङ गाउँघरमा भिड नै हुने किसीमका तन्नेरी यी सबैका लागि अब दशैँ नै कुरीरहनु पर्छ भन्ने छैन । किनकी अब एकाध मानिसहरुबाहेक सबैजसो मानिसहरु सामाजिक सञ्जालमा जोडिएका छन् । समय मिलाएर भेटघाट गरिरहन्छन् । अनि आफ्नो कमाईले दुईछाक खान र एकजोर लुगा लगाउन पाउनुलाई त्यति ठूलो कुरा मान्दैनन् तर यति हुँदाहुँदै पनि अब समय बदलिएको छ अर्थात् पहिले जस्तो स – साना खुसीहरु मानिसहरुलाई अपूर्ण लाग्छ । स – साना कुराहरुले मानिसहरुलाई हँसाउनै छाडिसकेको छ ।

हो, उनीहरु घुमघामको लागि विदेश जान चाहन्छन् । नेपालका पनि पहाडी र उच्च हिमाली भेगमा हप्तौँ हराउन चाहन्छन् ।

यसै कारणले पनि मानिसहरुलाई थोरै रुपैयाँ या खर्चले दशैँ धान्ने अवस्था रहँदैन । लोकपथ डटकमले यहाँ तयार पारेको यो सामाग्रीमा पनि नेपालीहरुले औसतमा कति खर्च गर्ने रहेछन् भन्ने कुरालाई उल्लेख गरिएको छ । देखासीखीका कारण चाडबाड भड्किलो बन्दै गएको छ । तर यसपटक कोरोनाको कहरले थिलोथिलो भएका कारण पनि मानिसहरुले अघिल्लो वर्षमाजस्तो खर्च गर्दैनन् कि भन्ने अनुमान लगाउन सकिन्छ ।

यो यथार्थ हो कि चाडपर्वको नाउमा धेरै नेपालीहरुले थाप्लोमा ऋणको बोझ थपिदैँ जान्छ ।

कति खर्च गर्छन् त नेपालीले दशैँमा ?
अघिल्लो आर्थिक वर्षमा घरायसी खर्चको लागी नेपालीहरुको २२ खर्ब ९८ अर्ब रुपैयाँ सकिएको सरकारी तथ्याङ्क छ । दशैंको समयमा नेपालीहरुको वार्षिक खर्चको एक तिहाइ रहने गरेको पाइएको छ । साथै यसभन्दा अघिल्लो दशैँमा नेपालीहरुको सामान्य खर्च २४ खर्ब रहने अनुमान अर्थशास्त्रीहरुले गरेका थिए । यसैलाई आधार मान्ने हो भने दशैँको समयमा मात्र नेपालीहरुको ८ खर्ब खर्च हुने अनुमान रहेको छ ।

त्यसमध्ये करिब ४० प्रतिशत आफ्नै उत्पादनले पुग्दछ भने ६० प्रतिशत नगद नै आवश्यक पर्दछ । दशैँ र अन्य समयमा घरायसी प्रयोजनको लागी आवश्यक हुने स्थानीय उत्पादनले धान्दछ भने ६० प्रतिशत भने नगद नै आवश्यक हुने गर्दछ । त्यहि आधारमा मुल्याङ्कन गर्दा दशैंको समयमा ५ खर्ब रुपैयाँ नै खर्च हुने अनुमान छ ।

अर्थशास्त्री केशव आचार्यका अनुसार यसको अर्थ बजारमा नगदमै कारोबार हुने भन्ने होइन। घरायसी उत्पादनका खाद्यवस्तु, तरकारी, माछामासु समेत बुझिन्छ । कुल उपभोग खर्चको ६० प्रतिशत बजारमा कारोबार हुने अनुमान गर्न सकिन्छ ।

२०७७ सालको दसैँको रौनक नेपालीहरुको घर आँगनमा आएसँगै निकै ढिला गरेर बजारमा चहलपहल बढ्न थालेको छ ।

कोरोनाको कारण यसपटक लामो समय बन्दाबन्दी भएका कारण निकै ढिलो गरी किनमेल शुरु भयो । कोरोनको जोखिमका कारण बजारमा त्यस्तो भिडभाड पनि देखिएन ।

यसभन्दा अघिल्ला दशैँको समयमा किराना सामानदेखि लुगा–कपडा, गरगहना, सवारीसाधन, माछामासु, मदिरा, सफ्टड्रिङ्स, ग्याजेट, टेलिभिजन, वासिङमेसिन, फ्रिज लगायत सरसामान अरुबेला भन्दा बढी नै खपत हुने गर्दथे तर यसपटक त्यसो भएन । लामो समय कार्यालय जान नपाएकाहरुले धक फुकाएर खर्च गर्न पाउनेछैनन् ।

करिब ५० लाख जनशक्ति बेरोजगार भएको छ । यस्तो विषम परिस्थितीमा पक्कै पनि दशैँ अघिल्ला वर्षहरुजस्तो हुनेछैन ।

दशैँको समयलाई लक्षित गर्दै विभिन्न कम्पनीहरुले चाडपर्वकेन्द्रित विक्रेता तथा सेवा प्रदायकले विभिन्न अफर ल्याउने गरेका छन् । साथै मानिसहरु घुमघामको लागी धेरै निस्किने भएकाले सार्वजनिक सवारी साधन, होटल रेस्टुरेन्ट, एयरलाइन्सको व्यापारपनि बढि नै हुने गर्दछ ।

त्यति मात्र नभएर दशैँको समयमा सम्पूर्ण वस्तुहरुको व्यापार पनि बढि नै हुने गरेको छ । कति व्यापारिक केन्द्रले त यहि मौका छोपेर उपभोक्ताहरुलाइ ठग्ने गरेको पाइन्छ । र, अन्य समयमाभन्दा सहुलियतमा पाइन्छ भन्ने हिसाबले टिकाउ वस्तुहरू फर्निचर, इलेक्ट्रोनिक्स, ग्याजेट लगायतका खरिदकर्तामा दसैँ अफर पर्खने बानी परेको छ ।

इन्टरनेट सेवा प्रदायक, ट्राभल एजेन्सी, दूरसञ्चार सेवा प्रदायक तथा होटल रेस्टुरेन्टले पनि दसैँ लक्षित प्याकेज ल्याएका छन् । त्यहि कारणले गर्दा पनि अघिलला दशैँहरु हरेक वर्षपिच्छे खर्चिलो बन्न थालेको थियो । कोरोनाले यसपटक यि सबै कुरामा छिर्की लगाएको छ ।

केहि वर्षअघिसम्म दशैँमा सपिङको नाममा ठूला र सम्भ्रान्त परिवारले मात्र बढि खर्च गर्ने गर्दथे भने अहिले आम मानिसहरुको पनि क्रयशक्ति बढेसँगै सबैको खर्चको दायरामा समेत बृद्धि भएको जानकारहरुको विश्लेषण छ । तर यसपटक कसरी पुर्याउने भन्ने वर्गको संख्या बढी छ ।

ज्वलरी व्यवसायीहरुका अनुसार पछिल्ला दशैँहरुमा सर्वसाधारणदेखी सम्भ्रान्त परिवारले गरगहनाजन्य वस्तुहरुको खरिद बढि गर्ने गर्दछन् । र स्वभावैैले पनि नेपालीहरु पछिल्लो समय पश्चिमा संस्कृतीको अनुशरण गर्दैछन् । त्यहिअनुसार आफन्त इष्टमित्रहरुलाई लत्ताकपडा एवम् गर गहना उपहार दिने भएकाले पनि खर्चको दायरा बढि हुँदै गएको छ । अर्को मूख्य समस्या भनेको त टिका लगाउँदा दक्षिणा दिने प्रचलनपनि नेपालीहरुको मूख्य खर्चको माध्यम बन्दै गएको छ ।

टिकासँगै आफन्तहरुलाई दक्षिणा दिने प्रचलन छ । हुनेहरुले त जतिपनि दक्षिणा दिन सक्छन् । तर त्यहिअनुसार आर्थिक अवस्था कमजोर हुनेले पनि दिनैपर्ने बाध्यता जस्तै बनेको छ त्यसैले पनि गरिबहरुका लागी दशैँ दशा बन्ने गरेको छ ।

राष्ट्रबैंकले अघिल्ला वर्षहरुमा खाद्य, पेयपदार्थ, गैर खाद्य वस्तु र सेवाको समेत मूल्य बढेकाले मुद्रास्फिति लक्ष्यभन्दा माथि गएको जानकारी दिने गरेको थियो । तर यसपटक कारोबार सोचेजस्तो नहुने निश्चित छ ।

दशैँमा ग्रामीण क्षेत्रमा समेत घरायसी उत्पादित सामग्री मात्र नभएर बजारमा उपलब्ध वस्तुको खरिद बढी हुने भएकाले महँगीले सबैलाई असर पार्नेछ ।

गैर खाद्यवस्तुको समेत मूल्यवृद्धिले सबैलाई महँगीको असर पारेको छ। त्यसैले अब सभ्य र भव्य रुपमा महान् पर्व दशैँ मनाऔं ।

कोरोनको कहरबाट जोगिन फजुल खर्चको ठाउँमा रोग प्रतिरोधात्मक क्षमता बढाउने विभिन्न खानेकुरामा जोड दिऔँ ।

बडादशैँको सबैलाई शुभकामना ।।

प्रतिक्रिया दिनुहोस