नेकपाभित्रको विवादलाई गिजोल्नु ‘रअ’ प्रमुख नेपालमा ? दौडधुप तिव्र

भारतीय गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ (रअ)’ का प्रमुख सामन्त गोयलसहित नौजनाको टोली काठमाडौं आउनुमा सत्तारूढ नेकपाभित्रको विवादलाई गिजोल्नुबाहेक अन्य खास केही नभएको दाबी सुरक्षा अधिकारीहरूको छ ।

भारतसँग सीमा विवाद चुलिएका बेला सत्तारूढ दल नेकपामा किचलो देखिएकाले सुरक्षा अधिकारीहरू गोयलको भ्रमणलाई पनि त्यसैसँग जोडेर विश्लेषण गर्छन् । ‘सीमा विवाद र सत्तारुढ दलमा देखिएको किचलोबाहेक नेपालमा रअको कुनै औपचारिक बिजनेस छैन,’ राष्ट्रिय अनुसन्धान विभागका पूर्वअधिकारीले भने ।

यसअघि रअका अधिकारीहरू नेपाल भ्रमणमा आउँदा राष्ट्रिय अनुसन्धान विभागका अधिकरीहरूसँग समन्वय हुन्थ्यो तर अहिले भने उनीहरूले भारतीय दूतावासमार्फत परराष्ट्र मन्त्रालयसँग कूटनीतिक अधिकारीहरू आउने भन्दै विशेष विमानका लागि अनुमति मागेका थिए । त्यसैअनुसार परराष्ट्रले कूटनीतिक व्यक्तिहरूका लागि भन्दै गरेको विशेष विमानको सिफारिसलाई हेर्ने हो भने नेपाल–भारत सम्बन्ध सुधारका लागि रअ प्रमुखको भ्रमण केन्द्रित भएको अनुमान पनि कतिपयको छ । रअका प्रमुखसहितका अधिकारीहरू परराष्ट्रको सिफारिसकै आधारमा विशेष विमान (आइएफसी ४६२०) बाट बुधबार दिउँसो पौने १ बजे काठमाडौं आएकाले सीमा विवादलगायत सम्बन्ध सुधार अजेण्डा हुन सक्ने आंकलन पनि छ ।
त्यसो त रअ प्रमुखको नेपाल भ्रमणबारे कुनै औपचारिक जानकारी नभए पनि सीमा विवादबारे विभिन्न दलका नेताहरूसँग उनले छलफल गर्ने कार्यक्रम भएको एक उच्च अधिकारीले जानकारी दिए । तर, कुन तहको राजनीतिक भेटघाट भन्नेबारे भने केही खुलेको छैन । नागरिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?