भक्तपुरमा १७३ जनालाई कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा भक्तपुर जिल्लामा मात्रै एकैपटक थप १७३ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा थपिएका ३ हजार १०७ जना कोरोना संक्रमित मध्ये १७३ जना कोरोना संक्रमित भक्तपुर जिल्लाका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच बितेको २४ घण्टामा नेपालमा थप ५ हजार ७४३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका २० हजार ११८ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा २ हजार ३९१, ललितपुरमा ५४३ र भक्तपुरमा १७३ जनासहित काठमाडौं उपत्यकामा मात्रै ३ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ ।

नेपालमा बितेको २४ घण्टामा थप २ हजार ९९६ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९९ हजार ६०५ पुगेको छ । यो कुल संक्रमितको ६८.७ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या ४४ हजार ४७६ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा २९ हजार ८०० जना र संस्थागत आईसोलेसनमा १४ हजार ६७६ जना छन् । तिमध्ये २६९ जना संक्रमितको आईसियु र ८७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार ६५ जना रहेका छन् ।

यस्तै झापा, मोरङ, सुनसरी, काभ्रेपलान्चोक, मकवानपुर, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, रुपन्देही, दाङ, बाँके, कैलाली, सुर्खेत र डडेलधुरा गरि १६ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

त्यस्तै नेपालका ७७ वटा जिल्लामध्ये हालको अवस्थामा मुस्ताङमा सक्रिय कोरोना संक्रमितको संख्या शुन्य रहेको छ ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ७९१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयले स्थिती अझ भयावह बन्दै गएको भन्दै थप सचेतना अपनाउन अनुरोध गरेको छ ।

हिजो (मंगलवार) नेपालमा ३ हजार ९३ जनामा संक्रमण पुष्टि भएको थियो । २ हजार १०८ जना संक्रमणमुक्त भएका थिए भने ८ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?