कोरोनाबाट एकैदिन २६ जनाको मृत्यु, मृतक संख्या ७९१ पुग्यो

काठमाडौं । नेपालमा कोरोनाको कारण थप २६ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो एकैपटक मृत्यु हुने मध्ये सबैभन्दा बढी हो ।

बितेको २४ घण्टामा नेपालमा थप ५ हजार ७४३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका २० हजार ११८ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा २ हजार ३९१, ललितपुरमा ५४३ र भक्तपुरमा १७३ जनासहित काठमाडौं उपत्यकामा मात्रै ३ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ ।

नेपालमा बितेको २४ घण्टामा थप २ हजार ९९६ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९९ हजार ६०५ पुगेको छ । यो कुल संक्रमितको ६८.७ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या ४४ हजार ४७६ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा २९ हजार ८०० जना र संस्थागत आईसोलेसनमा १४ हजार ६७६ जना छन् । तिमध्ये २६९ जना संक्रमितको आईसियु र ८७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार ६५ जना रहेका छन् ।

यस्तै काठमाडौंसहित, मोरङ, झापा, रुपन्देही, सुनसरी, ललितपुर, भक्तपुर, चितवन, सुर्खेत, मकवानपुर, बाँके, दाङ, कैलाली र कास्की गरि १४ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

त्यस्तै नेपालका ७७ वटा जिल्लामध्ये हालको अवस्थामा मुस्ताङमा सक्रिय कोरोना संक्रमितको संख्या शुन्य रहेको छ ।

हिजो (मंगलवार) नेपालमा ३ हजार ९३ जनामा संक्रमण पुष्टि भएको थियो । २ हजार १०८ जना संक्रमणमुक्त भएका थिए भने ८ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?