सोलुखुम्बुमा समुदाय स्तरमा कोरोना

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा कोरोनाको संक्रमण समुदाय स्तरमा फैलिएको पुष्टि गरेको छ । मङगलवार मात्रै जिल्लाका स्वास्थ्यकर्मीदेखी जनप्रतिनिधिसम्म १२ जनाको रिपोर्ट पोजेटिभ आएसँगै कोरोना संक्रमण समुदायस्तरमा फैलिएको पुष्टि गरेको हो ।

सङ्क्रमणको अवस्था बुझ्न नगरपालिकाको विभिन्न क्षेत्रमा आयोजित स्वाब परीक्षणको रिपोर्टअनुसार समुदायस्तरमा कोरोना फैलिसकेको सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पाले बताए । चाडपर्वका बेला चुनौती थपिएकाले परीक्षणको दायारालाई फराकिलो बनाइने उनको भनाइ थियो ।

नगरपालिकाका स्वास्थ्य संयोजक चमर मगरका अनुसार शुक्रबार ६४ जनाको स्वाब सङ्कलन गरी बिराटनगरमा परीक्षण गर्न पठाउदा एक वडाध्यक्ष, एक वडासचिव, एक स्वास्थ्यकर्मी, एक व्यावसायी र हाइड्रोपावरमा कार्यरत कर्मचारीमा समेत कोरोना पोजेटिभ देखिएको थियो ।
संक्रमितमध्ये एक संक्रमितलाई जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ भने अन्यलाई होम आइसोलेसनमा राख्ने तयारी गरिएको छ । उनीहरू फरक फरक स्थानका रहेका र उनीहरूको अन्यत्र सम्पर्क भए नभएको बारे थाहा नभएको उहाँले जानकारी दिए । यस्तै जिल्ला अस्पताल फाप्लुमा उपचार गराइरहेका १८ बर्षीय एक पुरुषको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ ।

यस्तै तल्लो सोलु खोला जलविद्युत आयोजना ८२ मेगावाटका २१७ मजदूरको पिसिआर परीक्षण गर्दा सात जनामा कोरोना पोजेटिभ आएको आयोजनाले जनाएको छ । रुम्जाटारस्थित ओखलढुङ्गा जिल्ला अस्पतालको समन्वयमा स्वाब सङ्कलन गरी परीक्षण गर्न पठाउँदा एक स्थानीय र छ भारतीयमूलका मजदूरमा कोरोना पुष्टि भएको बताइएको थियो । उनीहरूलाई होटल आइसोलेशनका लागि काठमाडौंमा पठाइएको आयोजनाले जनाएको छ ।
छिमेकी जिल्लाको भर

जिल्ला अस्पताल फाप्लुमा स्वाब सङ्कलन गर्ने जनशक्ति नहुँदा छिमेकी जिल्ला ओखलढङ्गाको भरपर्नुपर्ने भएकाले तल्लो सोलु हाइड्रोपावरले ओखलढङ्गा जिल्ला अस्पतालको समन्वयमा स्वाब सङकलन गरी परीक्षणका लागि पठाएको छ ।यसअघि रुम्जाटारबाट आएका स्वास्थ्यकर्मीले ५४ जनाको स्वाब सङ्कलनगरी परीक्षण गर्दा ११ जनाको रिपोर्ट पोजेटिभ आएपछि आयोजनाको काम ठप्प पारेर थप २१७ जनाको परीक्षण गरिएकामा उनीहरूमध्ये मङ्गलबार सात जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

आइसोलेसन वार्ड अभाव हुने

जिल्लामा आइसोलेशन वार्डको अभाव हुने अवस्था सिर्जना भएको छ । प्रदेश सरकारको सहयोगमा स्वास्थ्य कार्यालयले जिल्ला अस्पतालमा १० बेडको आइसोलेशन वार्ड निर्माण गरेकामा त्यहाँ चार संक्रमित राखेर उपचार गराइरहेको र थप ६ जनालाई पनि त्यही राख्दा वार्ड भरिन्छ । नगरप्रमुख शेर्पाले भनेजस्तै परीक्षणको दायारा बढाउने हो भने संक्रमितको संख्या थप हुनसक्ने भएकाले आइसोलेशन वार्डको अभाव हुने र त्यसपछिको अवस्था चिन्ताजनक हुने सल्लेरीका शिक्षिका दुर्गालक्ष्मी राईले बताइन्।

जिल्लाको आठवटै स्थानीय तहमा जम्मा आइसोलेसन वार्ड २९ छ तर केहीदिन अघि लिखु हाईड्रोमा काम गर्ने ४७ कामदारमा एकैपटक कोरोना पोजेटिभ देखिएको थियो । यस्तै थुलुङ दूधकोशी र सोलुदूधकण्ड नगरपालिकाका दुई जनामा पनि कोरोना पोजेटिभ देखिएकाले उनीहरू अहिले उपचारमा छन् ।

लामो समयसम्म सुरक्षित जिल्लाको सूचिमा रहेको सोलुखुम्बुमा पछिल्लो समय सङक्रमितको सङ्ख्या ह्वात्तै बढ्नु खतराको सङ्केत भएको र स्थानीय सरकारले यसको रोकथाम तथा नियन्त्रणमा ठोस कदम चाल्नुपर्ने स्थानीयवासी सन्तोष खत्रीले बताए।

पछिल्लो समय जिल्लाको विभिन्न विद्यालय सञ्चालन हुनाका साथै काठमाडौं लगायत ‘रेडजोन’बाट आउनेहरूसमेत खुल्लारूपमा हिड्डुल गर्दा जोखिम बढेको अधिकांशको भनाइ थियो । शुरु चरणको लकडाउनमा घरबाट बाहिर ननिस्केका सोलुखुम्बुबासी असुरक्षित हुनाको कारण काठमाडौं लगायत क्षेत्रबाट आउने नागरिकको उचित व्यवस्थापन नहुनु नै प्रमुख रहेको शिक्षिका राईको भनाइ थियो ।

समन्वय शून्य

बैंक तथा वित्तीय संस्था, होटल र पसलमा सामाजिक दूरीको कुनै ख्याल नगरिनु, रेड जोनबाट आउनेहरू बिनामास्क हिडिरनु र राजनीतिक दलले विभिन्न कार्यक्रम आयोजना गरिरहनाका साथै कोरोना रोकथाम अहिलेको मुख्य विषय भएका अवस्थामा पार्टी प्रवेश गराउने होडबाजीमा राजनीतिक दल व्यस्त भएको अर्का स्थानीयवासी भानुभक्त ढुंगानाले बताए ।

थुलुङ दूधकोशी गाउँपालिकाले सम्पूर्ण हाटबजार र सबै कार्यक्रम बन्द गर्ने गराउने निर्णय गरे पनि नगरपालिकाले भने यो समाचार तयार पार्दासम्म आधिकारिकरूपमा निर्णय गरेको छैन ।यसै महाकुलुङ गाउँपालिकाले हाटबजार बन्द गरेको छ भने माप्यदूधकोशी गाउँपालिकाले कार्यक्रम आयोजना गर्न नपाउने निर्णय गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?