चन्द्र ढकालले गरे उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको उम्मेद्वारी दर्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदावारी दर्ता गरेका छन् ।

बुधबार महासंघको केन्द्रीय कार्यालय टेकूमा ढकालसहित उनको प्यानलका सबै उपाध्यक्षका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् । ढकाल प्यानलबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोशियट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी दर्ता गराएका छन् । महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ ।

गत चैत्रमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगित भएको थियो । पछि पटकपटक साधारणसभा तथा निर्वाचनको मिति तोकिए पनि कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले जारी गरेका लकडाउन तथा निषेधाज्ञाका कारण साधारणसभा हुन सकेको थिएन ।

गत वर्ष नै बागलुङ उद्योग वाणिज्य संघले ढकाललाई महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदावार प्रस्ताव गरेको थियो । पछि गत फागुनमा काठमाडौंमा औपचारिक कार्यक्रम गरी ढकालले आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।

महासंघको चुनावका लागि उम्मेदवारहरुले आजदेखि मंसिर ४ गतेसम्म मनोनयनपत्र दाखिला गर्नसक्नेछन् । मनोनयन दाखिला इमोलबाटै गर्न सकिने र त्यसको सक्कल कागजागत मंसिर ४ गतेभित्र महासंघमा बुझाइसक्नुपर्ने व्यवस्था गरिएको छ ।

महासंघको निर्वाचन समितिले आगामी निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै ढकालले मनोनयन दर्ता गरेका हुन् । गत चैतमा हुनुपर्ने तर कोरोना महामारीका कारण रोकिएको निर्वाचन आगामी मंसिर ११ र १२ गतेका लागि मिति तय गरिएको छ ।

त्यस्तै ढकालका प्रतिष्पर्धी किशोर प्रधानले भने केही दिनपछि उम्मेद्वारी मनोनयन गर्ने लोकपथसँगको कुराकानीमा बताएका छन् ।

आगामी ५४ औँ साधारण सभा एवम् निर्वाचनबाट अर्को कार्यकालका लागि शेखर गोल्छा स्वत अध्यक्ष बन्नेछन् । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि अध्यक्ष बन्ने प्रावधान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?