निकुञ्ज भ्रमणपछि देउवाले भनेः बाघ हेर्न अर्काेपटक आउँछु

चितवन, ५ चैत । जंगल सफारीका लागि विश्व प्रख्यात चितवन राष्ट्रिय निकुञ्जको आज भ्रमणपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बाघ हेर्न अर्काेपटक आउने गरी बिदाइ भएका छन् ।नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका देउवा कसराको डुमरिया फाँट हुँदै पदमपुर, जर्नेली पोष्ट, विक्रम बाबा दर्शन, घडियाल प्रजनन केन्द्र अवलोकन गर्दै फर्किएका थिए ।निकुञ्ज घुमाउनसँगै रहनुभएका मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासु ढुंगानाले भ्रमणका क्रममा सातवटा गैँडा, मयुर, गोही, चराचुरुङ्गी देखेपछि उहाँले अहिले बाघ देखिएन अर्काेपटक आउने बताएका हुन् ।ढुंगानाले भने, “पूर्व प्रधानमन्त्री देउवा गैँडा देखेपछि निकै उत्साहित हुँदै बाघ हेर्न फेरि आउने बताए ।”वन र वन्यजन्तु संरक्षणमा निकै चासो राख्ने देउवाले निकुञ्ज संरक्षणमा ध्यान दिन सँगै रहेका संरक्षणकर्मीलाई आग्रह पनि गरेका थिए ।उनीसँगै सांसदहरु, काँग्रेस नेता, निकुञ्ज अधिकारी र मध्यवर्तीका पदाधिकारीहरु जंगल सफारीमा रहनुभएको थियो । बिहान ८ बजे जिप सफारीका लागि निकुञ्ज छिर्नुभएका देउवा १०ः३० बजेमात्रै फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?