वाग्मती । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको पशु सेवा विभागले चाडपर्व लक्षित पशुपंक्षी, पशुपंक्षीजन्य उत्पादन आपूर्ति, बजार अनुगमन कार्ययोजना तयार गरेको छ ।
बजारमा भित्रिएका तथा विक्रीवितरणका लागि राखिएका पशुपन्छीको स्वास्थ्यस्थिति जाँच, आवश्यकताअनुसारको नमूना सङ्कलन, रोग निदान र उपचारमा सहयोग पु-याउनका लागि सो कार्ययोजना तयार गरिएको हो । यसका लागि आपूर्ति व्यवस्थापन, पशु स्वास्थ्य परीक्षण, नमूना सङ्कलन तथा परीक्षण र अस्थायी पशु क्वारेन्टाइनको व्यवस्थाका लागि पनि काम अघि बढाइएको विभागका सूचना अधिकारी डा चन्द्र ढकालले जानकारी दिए ।
उनका अनुसार चाडपर्व लक्षित पशुपंक्षी, पशुपंक्षीजन्य उत्पादन आपूर्ति र बजार अनुगमनका लागि ३८ जनशक्ति परिचालन गरिएकामा ४ वरिष्ठ पशु चिकित्सक एवं वरिष्ठ अधिकृतका साथै २० पशु चिकित्सक १४ प्राविधिक जनशक्ति रहेका छन् ।
काठमाण्डौं उपत्यका (काठमाण्डौं ललितपुरर भक्तपुर) मा दशैँ, तिहार र छठलाई लक्षगरी यस बर्ष करिब एक लाखको संख्या हाराहारीमा खसी–बोका , राँगा– भैसी तथा च्याङ्ग्रा भित्रिने अनुमान गरिएको छ ।
विभागका अनुसार आपूर्ति व्यवस्थापनका लागि हेफर इन्टरनेशनल नेपालले काठमाण्डौं उपत्यकामा करिब ४६ हजार ४७४ र नेपाल व्यवसायिक बाख्रापालक महासंघले ४६ हजार खसी–बोका आपूर्ति गर्ने अनुमान गरिएको छ । आपूर्ति व्यवस्थापनका लागि हेफर इन्टरनेशनलले विभिन्न जिल्लामा रहेका समूहमध्ये अर्घाखाँचीबाट ३ हजार ८२९, बाँकेबाट २ हजार ३३६, बर्दियाबाट १ हजार ९३०, चितवनबाट ४ हजार ६००, दाङ्गबाट २ हजार १००, धादिङ्गबाट ६ हजार १९५, कपिलवस्तुबाट ६००, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)बाट ५ हजार ८११, महोत्तरीबाट ३६०, नुवाकोटबाट २ हजार ५८०, पाल्पाबाट २ हजार ४८०, प्यूठानबाट २ हजार १५०, रौतहटबाट ४ हजार ९५०, रूपन्देहीबाट ६००, सर्लाहीबाट १ हजार ३८०, सिन्धुलीबाट ७८०, सुर्खेतबाट ३ हजार ७९३ वटा खसी–बोका काठमाण्डौं उपत्यकामा आपूर्ति गराउने जनाएको छ ।
यसैगरी महासंघले ४६ हजार खसीबोका आपूर्ति गर्ने भएकामा प्रदेश नं १ बाट १० हजार , प्रदेश नं २ बाट ५ हजार, वाग्मती प्रदेशबाट १२ हजार, लुम्बिनी प्रदेशबाट ५ हजार, कर्णाली प्रदेशबाट ७ हजार र सुदूरपश्चिम प्रदेशबाट ७ हजार आपूर्ति जनाएकोे छ । खसी–बोका काठमाण्डौँ उपत्यकाका कोटेश्वर, गोगंवु र सल्लाघारीवाट विक्री वितरण गरिने योजना छ ।
विभागका अनुसार पछिल्ला वर्षहरूमा भारतीय बजारबाट खसी–बोका भित्रिने क्रम घटेको थियो । भारतबाट आर्थिक वर्ष ०७३/०७४ मा पाँच लाख र आर्थिक वर्ष ०७५/०७६ मा २ लाख ६७ हजार खसी–बोका भित्रिएकामा आर्थिक वर्ष ०७६/०७७ मा उक्त संड्ख्या घटेर करिब १० हजारमा झरेको थियो ।
नेपाली खसी–बोका उत्पादन वृद्धि हुनाका साथै राम्रो बजार पाउनु सकारात्मक पक्ष रहेको विभागका सूचना अधिकारी ढकालले जानकारी दिए ।
उपत्यकालगायत प्रमुख शहर बजारमा आपूर्ति हुने पशुुको स्वास्थ्य परीक्षणका साथै गाडीमा आएका पशुपन्छी, माछा ढुवानी तथा पशु कल्याणका मापदण्ड पूरा गरे नगरेको जाँच गर्ने, बजारमा पशुजन्य तथा मत्स्यजन्य उत्पादनहरूको गुणस्तर नियमनका लागि नमूना सङ्कलन तथा परीक्षण, बजारमा आपूर्तिका लागि ल्याइएका पशुवस्तुहरूमा रोग तथा सङ्क्रमणको निगरानी तथा क्वारेन्टाइनका लागि खसी–बोका काठमाण्डौमा भित्रिएपछि कलङ्की, खसी बजार र बल्खु माछा बजार, चाल्नाखेल राँगा बजार, टुकुचा खसी बजार र खाद्य संस्थान, लोकन्थली खसीबजार, सल्लाघरी खसी बजार, बालाजु बाइपास नाका तथा विभिन्न नाकामा होल्डिङ्ग तथा सङ्कलन भएका पशुपंक्षीको स्वास्थ्य परिक्षण गरिने विभागले जनाएको छ ।
काठमाण्डौमा यस आर्थिक वर्ष ०७७/०७८ को भाद्र महिनासम्मको तथ्याङ्क अनुसार खसी–बोका १ हजार ८४२, राँगा–भैसी ९०० र खाने माछा ३५३ मेट्रिकटन आयात भएको देखिन्छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्वलाई लक्ष गरी एक हजार ४०० च्याङ्ग्रा एक हजार ५०० खसी–बोका काठमाडौं उपत्यका ल्याउने योजना रहेको विभागले जनाएको छ ।
साथै कोभिड १९ को संक्रमणको कारणले गर्दा चाडवाड लक्षित आपूर्ति व्यवस्थापन तथा अनुगमनमा संलग्न सबै सरोकार निकायले कार्यक्रम संचालन गर्दा विशेष सुरक्षाका मापदण्ड अनिवार्य पालन गर्नुपर्नेमा विभागले जोड दिएको छ ।
विभागका अनुसार काठमाडौंमा दैनिक बध गरिने राँगा–भैसीको संख्या १०० रहेको छ भने दशै तिहारमा यो संख्या १५० पुग्ने गरेको छ । त्यस्तै खसी–बोकाको हकमा यो सङ्ख्या एक हजारदेखि एक हजार २०० सम्म र कुखुराको माग ५०० मेट्रीकटन रहेको छ ।
काठमाडौं उपत्यकामा दैनिक कुखुराको मासुको माग ३०० मेट्रीकटन हुने र दशैँमाभन्दा तिहारमा अझबढी खपत हुने देखिन्छ भने कुखुराको अण्डा दैनिक २६ लाख वटा खपत हुने गरेको छ । बङ्गुरको मासु दशै तथा तिहारमा ६–७ मेट्रीकटन दैनिक खपत हुने गरेको छ ।
आम उपभोक्ताहरूलाई स्वच्छ, स्वस्थ्य एवं गुणस्तरीय पशुपंक्षी, पशुपंक्षीजन्य उत्पादन तथा पैठारीलाई सुनिश्चित गर्नका लागि पशुपन्छी, बजार अनुगमन तथा गुणस्तर नियमन गर्न यो कार्ययोजना तयार पारिएको विभागका सूचना अधिकारी डा चन्द्र ढकालले जानकारी दिए ।
दशैँ, तिहार र छठ नेपालको महत्वपूर्ण चाडपर्वहरूमा पशुपन्छी तथा माछाको विभिन्न परिकार खाने भएकाले यो समयमा विशेष गरी पशुपंक्षी र पशुपंक्षीजन्य पदार्थको माग अत्यधिक रहन्छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया