कैलाली प्रहरी हत्या प्रकरण : थप एक जना पक्राउ

काठमाडौं । गत शनिवार कैलालीमा भएको एक असइसहित दुइ प्रहरी जवानको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

अनुसन्धानका क्रममा हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले २० वर्षीय रोहित रानालाई पक्राउ गरेको हो ।

गत शनिवार राति ड्युटीमा रहेका दुवै जना एकाएक सम्पर्क विहिन भएका थिए । ती मध्ये असई गोविन्द विकको शव आइतवार कैलालीको मोहना नदि किनारमा भेटिएको थियो । भने अर्का प्रहरी जनाव रामबहादुर साउँदको शव मंगलवार विकको शव रहेको ठाउँ नजिकै भेटिएको थियो ।

यसअघि प्रहरीले उनीहरुको हत्यामा संलग्न रहेको आरोपमा आइतवार ११ जना र मंगलवार ७ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । त्यस्तै मंगलवार पक्राउ परेका ७ जनालाई भने प्रहरीले सार्वजनिक गरिसकेको छ ।

मंगलवार पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका-१० बस्ने ३१ वर्षीय पर्कु भन्ने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भन्ने सुरेश राना, २५ वर्षीय गब्बर भन्ने राज कुमार राना, २२ वर्षीय राम निवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र सोही उपमहानगरपालिका-११ बस्ने २५ वर्षीय गोपाल भन्ने राम गोपाल राना रहेका छन् ।

शनिबार राति करिब साढे १० बजे उक्त पोष्टबाट सीमा क्षेत्रमा हुने अपराध एवं तस्करी नियन्त्रणका लागि नियमित गस्तीमा खटिएको अवस्थामा दुवै जना सम्पर्कमा नआएपश्चात उनीहरुको खोजी गर्ने क्रममा हत्या गरी धनगढी उपमहानगरपालिका-१० स्थित मोहना नदीमा फालेको अवस्थामा प्रहरी सहायक निरीक्षक विकको आइतबार र प्रहरी जवान साँउदको मंगलबार शव फेला परेको थियो ।

घटनाको थप अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

उक्त नदीबाट करिब ४ सय मिटर टाढा सीमामा अबैध सामानहरुको तस्करी गरिरहेका तस्करहरुको समूहलाई नियन्त्रणमा लिने क्रममा उनीहरुले योजनाबद्द रुपमा धारिलो हतियार प्रहार गरी दुवै जनाको हत्या गरेपश्चात करिब ४ सय मिटर टाढा मोहना नदीमा लगी अपराध लुकाउने उद्देश्यले शव फाली उनीहरु फरार भएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?