राजु सदा मृत्यु प्रकरण : अध्ययन विशेष समितिले निकालेको प्रतिवेदनमा के छ ?

काठमाडौं – धनुषाको हंसपुर नगरपालिका प्रसाहीका १६ वर्षीय राजु सदाको मृत्युसम्बन्धी अध्ययन विशेष समितिले प्रदेशसभालाई प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदनमा प्रादेशिक अस्पताल जनकपुरधाम, क्वारेन्टाइनस्थल र सामाजिक विकास मन्त्रालयको लापरवाहीका कारण राजु सदाको मृत्यु भएको ठहर गरिएको छ । प्रतिवेदनमा प्रयोगशालाले बेलैमा कोरोना टेष्ट गरेको पिसिआर रिपोर्ट उपलब्ध गराएको भए बिरामीको स्वास्थ्य उपचार थप प्रभावकारी हुनसक्ने ठहर समेत गरेको छ ।

झाडापखाला लागेका बिरामीलाई समयमै औषधोपचार गराउनुपर्नेमा सो नभएको, कोभिड १९ का बिरामीलाई लक्षित गरी बनाइएको अस्पतालमा बिरामीका लागि प्रयोगशाला, एक्सरे, सिटी स्क्यान, भेन्टिलेटरको व्यवस्था नरहेको र सामाजिक विकास मन्त्रालयले सो सम्बन्धमा आवश्यक पहल नगरेकोले व्यवस्थापकीय पक्ष कमजोर देखिएको, कोरोना महामारीबाट प्रभावित मुलुकबाट आउने व्यक्तिहरुलाई यथोचित वासस्थानको व्यवस्था हुनुपर्नेमा सो सन्दर्भमा समेत व्यवस्थापकीय पक्षको कमजोरी देखिएको, बिरामी आइसोलेसन शैयाबाट झरेको घण्टौँ बितेपछि मात्र स्वास्थ्यकर्मी त्यहाँ पुगेको तर त्यो घटनाबारे थप एकिन गर्न सिसिटिभी क्यामेरा खराब भएकोले नसकिएको कारण सदाले जयान गुमाउनुपरेको उल्लेख छ ।

प्रदेशसभाको गत असार १४ गतेको बैठकले प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएका धनुषा, हंसपुर नगरपालिका–७ का राजु सदाको मृत्युको सम्बन्धमा घटना अध्ययन गरि प्रतिवेदन पेश गर्नका लागि अध्ययन विशेष समितिको गठन गरेकोे थियो । सोही समितीले सोमबार यो प्रतिवेदन सार्वजनिक गरेको हो ।

सदा अस्पतालको आइसोलेसन वार्डको भुइँमा छटपटाइएर ज्यान गुमाएको भिडियो सामाजिक सञ्जालमार्फत् बाहिरीएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?