कास्की । आफ्नै काकाको हत्या गरी छ महिनादेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–६ बान्द्रे घर भई विगत तीन वर्षदेखि पोखरामा मजदुरी गर्दै आएका ५५ वर्षीय टङ्कबहादुर तामाङको हत्या गरेको अभियोगमा प्रहरीले तामाङका दाईका छोरा ४६ वर्षीय इन्द्रबहादुरलाई पक्राउ गरिएको जनाएको छ ।
गत वैशाख २१ गते पोखरा–२० स्थित जङ्गल छेउमा रहेको पाल तथा स्याउलाले बनाएको छाप्रोमा तामाङको टाउको तथा अनुहारमा गम्भीर चोट लागेको अवस्थामा शव फेला परेपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो । घटनामा इन्द्रबहादुरको संलग्नता देखिएपछि खोजतलासको क्रममा लमजुङको मध्यनेपाल नगरपालिका–२ सोतीपसलमा फेला पारेर पक्राउ गरी पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।
घटनापछि मृतकको छोराले तामाङविरुद्ध किटानी जाहेरी दिनुभएको थियो । गत वैशाख २० गते राति मदिरा सेवन गरेपछि दुई जनाबीच झैझगडा शुरु भएको र सोही क्रममा इन्द्रबहादुरले टङ्कबहादुरको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको उनले बताए । प्रतिवादी तामाङले प्रारम्भिक सोधपुछ गर्दा घटना घटाएको स्वीकार गरेको र उनलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान कार्य अगाडि बढाइएको प्रनाउ हमालले जानकारी दिए ।
चोरीको आरोपमा दुई पक्राउ
कास्की प्रहरीले माछापुच्छ्रे गाउँपालिका–४ मा गत असोज २४ गते भएको चोरीको घटनामा सङ्लग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
लाहाचोकस्थित तुलसी अधिकारीको शारदा एण्ड सरोज किराना पसलबाट रिचार्ज कार्ड, नगद एक लाख ३० हजार, औँठीलगायत सामान चोरी गरी फरार रहेको भन्ने सूचनाका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा तनहुँ रिसिङ गाउँपालिका–२ घर भई हाल पोखरा महानगरपालिका–८ न्यूरोड बस्ने ३० वर्षीय मधु थापा र लाहाचोककै ३८ वर्षीय सूर्यबहादुर घर्ती रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका वडा प्रहरी कार्यालय बगरबाट प्रहरी टोलीले खोजतलास तथा अनुसन्धान गर्ने क्रममा उनीहरुलाई थापाको पोखरा–८ न्यूरोडस्थित आफ्नै डेरा कोठाबाट चोरी भएको सामानसहित फेला पारिएको जनाइएको छ ।
प्रहरीले उनीहरुको साथबाट रु ७७ हजार २९० बरामद गरेको र चोरी तथा डाँकासम्बन्धी कसुरअन्तर्गत अनुसन्धान भइरहेको प्रनाउ हमालले जानकारी दिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया