कोरोना नियन्त्रण गर्न रातभरि देशव्यापी ‘कर्फ्यू’

स्लोभानिया । कोरोना भाइरसको महामारी फैलिँदै गएपछि त्यसलाई नियन्त्रण गर्न भन्दै स्लोभानियामा देशव्यापी कर्फ्यू घोषणा गरिएको छ ।

देशव्यापी कर्फ्यू रातिमा मात्रै लागू हुने र मंगलवारदेखि शुरु हुने अधिकारीहरुले सोमवार जानकारी दिएका छन् ।

युरोपेली मुलक स्लोभानियामा पछिल्लो समय कोरोनाभाइरसको महामारी अत्यन्त नराम्रोसँग फैलिएको समाचारमा जनाइएको छ ।

हरेक बेलुका नौ बजेदेखि विहान ६ बजेसम्म कफ्र्यु लागु हुने भएको छ भने ६ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाइएने भएको छ । त्यसैगरी कतै हिडडुल गर्नु परेमा पनि पर्याप्त र अत्यावश्यकता ठहरिने कारण देखाउनु पर्ने व्यवस्था गरिएको छ ।

स्लोभानियामा सरकारले पनि औपचारिक रुपमा देशमा कोरोनाभाइरसको महामारी फैलिएको घोषणा गरेको छ ।

देशमा सोमबार मात्रै ५३७ जनाका कोरोनाभाइरसको नयाँ संक्रमण पुष्टि भएको छ । कुल दुई हजार ६३७ जनाको कोरोना परीक्षण गर्दा त्यति जनामा कोरोना भाइरसको सङ्क्रमण भएको देखिएको हो ।

महामारी फैलिन शुरु भएदेखि स्लोभानियामा अहिले पहिलो पटक कर्फ्यू लागू गर्ने घोषणा गरिएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?