काठमाडौं, ५ चैत- सरकारले काठमाडौं महानगरपालिकाभित्र रहेका ड्राइभिङ सेन्टर र गाडी मर्मत गर्ने सबै वर्कसपलाई चक्रपथबाहिर लैजाने भएको छ |गृह मन्त्रालयमा शुक्रबार र आइतबार बसेको विशेष बैठकले ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउने भन्दै सो निर्णय गरेको हो, राजधानी दैनिकमा खबर छ ।गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामकृष्ण सुवेदीले साँघुरा स्थानमा रहेका ड्राइभिङ सेन्टर, गाडी मर्मतका लागि खोलिएका वर्कसपहरूले ट्राफिक व्यवस्थापनमा अवरोध खडा गरेकाले सकेसम्म टाढा लैजाने निर्णय भएको बताए । ‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन सबै सरोकारवाला निकायको बैठकले यो निर्णय गरेको हो,’ गृह प्रवक्ता सुवेदीले भने ।बैठकले यो निर्णयलाई कार्यान्वयन गर्ने जिम्मेवारी काठमाडौं, महानगरपालिका, नगरपालिका र ट्राफिक प्रहरीलाई दिएको छ । यसैगरी, बैठकले टुरिस्ट बसलाई कान्तिपथबाट तत्काल हटाउनका लागि काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरीलाई समन्वयको जिम्मेवारी दिएको छ । यस्तै, उपत्यका बाहिर जाने गाडीहरूको बसपार्कको हकमा सम्बन्धित महानगर, नगरपालिका र ट्राफिक प्रहरीले समन्वय गर्ने निर्णय भएको छ ।उपत्यकामा हाल १ लाख ५० हजारको हाराहारीमा कार, बस र ट्रक सञ्चालनमा छन् भने ५ लाखभन्दा बढी दुईपांग्रे सवारी (मोटरसाइकल) चलिरहेका छन् । जम्मा ४५० किलोमिटर लम्बाइ र करिब ४ दशमलव ५ मिटर चौडाइका सडकमा गुड्ने यी सवारीसाधन व्यवस्थापनमा ट्राफिक प्रहरीलाई हम्मे परिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया