किन बढ्दैछ उपत्यकामा ट्राफिक समस्या ?

काठमाडौंँ, ५ चैत – सडकको क्षमताभन्दा बढी सवारी साधन भएपछि उपत्यकामा ट्राफिक समस्या बढ्दै गएको छ । यसैकारण उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि प्रत्येक हप्ता नयाँ कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी हुन सकेको छैन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कच्ची तथा पक्की गरेर काठमाडौँ, ललितपुर र भक्तपुरमा ४७२ किलोमिटर सडक छ । यो सडकमा दैनिक ११ लाख सवारी साधन गुड्ने गरेका छन्, गोरखापत्रमा खबर छ ।सवारी साधनको चाप बढेसँंगै सवारी जाम र दुर्घटना बढेको ट्राफिक प्रहरीले जानकारी दिएको छ । महाशाखाका प्रहरी नायव उपरीक्षक मुकुन्द मरासिनीले तीन विषयको प्रभावकारी कार्यान्वयन नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या आएको बताए ।सडकको वैज्ञानिक बनावट, सडक रेखाङ्कन र ट्राफिक नियमको पूर्ण पालना नगराउँदासम्म समस्या उस्तै रहने दाबी उनको छ । आर्थिक वर्ष २०७२÷७३ को तथ्याङ्कअनुसार उपत्यकामा १० हजार बस, नौ हजार पाँच सय मिनीबस, ट्रक मिनी ट्रक, कन्टेनर र ट्याङकर गरी २० हजार आठ सय, क्रेन डोजर, स्काभेटर चार हजार आठ सय, एक लाख २५ हजार कार–जीप, १७ हजार पिकअप, २१ सय माइक्रो र २५ सय टेम्पो सञ्चालनमा छन् । त्यस्तै, ट्राफिक व्यवस्थापनमा निकै चुनौतीपूर्ण समस्याका रूपमा देखिएको मोटरसाइकलको सङ्ख्या मात्र राजधानीमा सात लाख २२ हजार ७२२ छ । ट्याक्टर तथा अन्य सवारी दुई हजार नौसय, कूटनीतिक नियोग तथा एम्बुलेन्स चार हजार पाँचसय रहेको महाशाखाले जनाएको छ ।उपत्यकामा बागमतीबाहेक अन्य अञ्चल यातायात कार्यालयमा दर्ता भएका सवारी साधन पनि गुड्ने भएकाले कुल सवारी साधनको सङ्ख्या ११ लाख भएको अनुमान महाशाखाको छ । विशेष गरी बिहान र बेलुका जामको समस्या देखिने गरेको छ ।तर नायव उपरीक्षक मरासिनीले त्यसलाई जाम भन्न नमिल्ने बताए । सवारी साधन चौ–बाटोमा ‘क्यु’मा बस्दाको अवस्थालाई जाम भन्न मिल्दैन उनले भने – एउटा लेनमा सवारी सञ्चालन भइरहँदा अर्को लेनमा रोकिनुपर्छ । महाशाखाका अर्का प्रहरी नायव उपरीक्षक विश्वमणि पोखरेलले भने –उपत्यकामा समस्या सवारी साधन र सडकको होइन अनुशासित चालक र सचेत नागरिकको हो ।काठमाडौँ उपत्यकामा तीन सय स्थानमा जेब्राक्रसिङ, २२ स्थानमा आकासे पुल, एक सय २७ स्थानमा ट्याक्सी स्ट्यान्ड, दुई सय ९८ स्थानमा बस स्ट्यान्ड, पाँच स्थानमा बसपार्क, ११ वटा चौबाटो र १९ मध्ये चार स्थानमा ट्राफिक लाइट सञ्चालनमा छन् । सडक क्षमताभन्दा बढी सवारी साधनको सञ्चालनसँगै चालक र सर्वसाधारणले ट्राफिक नियमको पालना नगर्दा समस्या अझ बढ्दै गएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?