२०७७, ३ कार्तिक सोमबार १५:२१

ग्रामीण भिडियो एक्सरेमा महिलाको सहभागिता


प्रकाशित मिति : २०७७, ३ कार्तिक सोमबार १५:२१

काठमाडौं । कोभिड–१९ को महामारीका बेला गाउँमा आएर बसेका गर्भवतीको टोलटोलमा पुगेर भिडियो एक्सरे गरिएको छ । गङ्गाजमुना गाउँपालिकामा साताव्यापी ग्रामीण भिडियो एक्सरे कार्यक्रम सञ्चालन गरिएको छ । गाउँपालिकाले आफ्ना पाँच स्वास्थ्यचौकी र एक स्वास्थ्यविन्दुमा दुई वर्षअघिदेखि सञ्चालन गरेको ग्रामीण भिडियो एक्सरे सेवाले गर्भवतीमा खुशीयाली छाएको छ ।

कोरोना भाइरसको महामारीले शहरमा बस्ने महिलासमेत गाउँ आएका छन् । उनीहरु शहरमा महँगा स्वास्थ्य संस्थामा जान नसक्ने अवस्था छ । गाउँपालिकाले सञ्चालन गरेको ग्रामीण भिडियो एक्सरे सेवाबाट गर्भवतीका लागि सहयोग पुगेको छ ।

भिडियो एक्सरे सेवा लिएपछि महिलाको पेटमा बसेको गर्भका शिशुका बारेमा जानकारी हुने र कसरी बसेको छ भन्ने जानकारी पाएपछि सुत्केरी गराउन कस्तो स्वास्थ्य संस्था जाने भन्ने जानकारी पाउने भएकाले ग्रामीण भिडियो एक्सरे सेवा प्रभावकारी बन्दै गएको भिडियो एक्सरे सेवा लिएर गाउँगाउँ पुगेकी सुनिता अधिकारीले बताइन्। जटिलावस्थामा कुनै सुत्केरी भए सोबारेमा परिवारलाई जानकारी पाएपछि यस पटकको भिडियो एक्सरे कार्यक्रमबाट १० जनाभन्दा बढी त्यस्ता महिलालाई उचित सल्लाह दिएर स्वास्थ्य संस्थामा जानका लागि आग्रह गरिएको अधिकारीले बताइन् ।

भिडियो एक्सरे सेवा बसेरीमा २५, बुढाथुममा २४, फूलखर्क ग्रामीण अस्पतालमा २०, गुम्दीमा २७, री गाउँमा २२ र ताजिम्राङमा १७ जनाले लिएका छन् । एउटा ल्यापटपका सहायताबाट यसका लागि केही सामग्री लिएर गाउँमा रहेका स्वास्थ्यचौकीमा सञ्चालन गरिने भिडियो एक्स–रेबाट गर्भवतीलाई स्वास्थ्य सेवाको पहुँच पुगेको महिलाको भनाइ छ । गाउँपालिकाले सहयोग गरेर गरिएको कार्यक्रम अब निरन्तर सञ्चालन हुने गङ्गाजमुना गाउँपालिका स्वास्थ्य शाखा संयोजक दीपक अधिकारीले बताए ।

  • रासस

प्रतिक्रिया दिनुहोस