हर्क बहादुरहरुको कथा : “के दशैँ के तिहार गरिबको झुप्रो घरैमा”

काठमाडौं । कोरोनाको कहरकाबीच दशैँले देशलाई छपक्कै छोपेको छ । नेपालीहरुको महान् पर्व भएको कारण पनि कोरोना महामारीकै बीच पनि गाँउघर सहर बजारमा दशैँको रौनक देखिन थालेको छ । दशैँको अर्को मूख्य रोचक पक्ष भनेको यस पर्वमा एकसरो नयाँ कपडा लगाउनुपर्छ भन्ने हो । तर हरेक तह र तप्काका लागि खुलेका विभिन्न सपिङ मलहरुदेखि नाङ्लो पसलसम्मै यतिबेला कोरोनाको मारमा परेको छ ।

त्यतिमात्रै होईन मध्यम र निम्न वर्गीय ग्राहकहरुलाई लक्षित गरी खोलिने काठमाडौंका असन, इन्द्रचोक, भृकुटीमण्डप जस्ता बजारहरु सुनसान प्राय छन् । अघिल्ला वर्षहरुमा यतिबेला यी पर्वमा बजारहरुमा मानिसहरुको भिड निकै बाक्लो हुन्थ्यो । किनमेल गर्नेको भिड ठेलमठेल हुन्थ्यो । बेच्न राखिएका रंगीबिरंगी सामानहरुले बजार धपक्क हुन्थ्यो । अनि तिनका सामान ओसारपसार गर्ने भरीया, ट्याक्सी चालक, रिक्सा चालकहरुलाई चाड पर्वको बेलामा खाजा खानेसम्म फुर्सद हुँदैनथियो ।

तर यसपालिको माहोल भिन्नै छ । मानिसहरुको अनुहार मुस्कुराउन सकेको छैन । लामो समय घरभित्रै थुनिएका मानिसहरु निकै उकुसमुकुस जीवन गुजारिरहेका छन् । रोजगारी छुटेको छ । सपिङ त परै जाओस् शहर पुरै सुनसान बनेको छ । कोरोना सर्छ कि वा भईहाल्यो भने परिवारले फूल समेत चढाउन नपाई अन्त्येष्टि हुन्छ भन्ने भय मानिसहरुमा यसरी गढेको छ कि अत्यावश्यक काम पनि मानिसहरुले पछि गरौँला भन्ने स्थिती आईसकेको छ ।

कोरोना संक्रमितको संख्या दिनप्रतिदीन बढीरहेको छ । सरकारले तिनको उपचारको लागि आफ्नो ल्याकतले नभ्याउने भनिसकेको छ । त्यसैले मानिसहरुलाई दशैँको रौनकताले छुनसम्म सकेको छैन । दशैँको किनमेलका लागि ग्राहक आउँछन् कि भन्दै व्यापारीहरू ग्राहकहरुको प्रतिक्षामा दिन बिताउने गरेका छन् ।

हर्क बहादुर आफ्नो दुख : के दशैँ के तिहार बाबू

काठमाडौंको ठमेल क्षेत्रमा १५ वर्षदेखी रिक्सा चलाउँदै आइरहेका हर्क बहादुर आफ्नो दुख सुनाउछन् : “हुने खानेलाई आउने रै छ यो दशै तिहार,चाड पर्व हामी बिहान कमाएर बेलुका छाक टार्नेलाई के दशैँ के तिहार, रुवाउँनलाई आए जस्तो लाग्छ ।”

घर : काभ्रे

हाल बस्ने : ठमेलस्थित डेरामा

उमेर : ४९ वर्ष

परिवारमा उनीसहित चार जना

चार जनाको सानो परिवारको सहारा उनी र उनको रिक्सा हो । उनले चालेका पाईडलले तान्ने रिक्साले उनको परिवारको लागि चुल्हो बल्दै आएको थियो । दुई छाक मिठोमसीनो पेट भर्न पाएका थिए ।

हर्क बिहानै ९ बजेतिर डेराबाट रिक्सा निकालेर असनतिर लाग्छन् । अनि कमाइ भएको दिन खुशी हुँदै साँझ घर फर्कन्छन् । यो उनको १५ वर्षदेखिको दैनिकी हो । तर विश्वलाई नै चुनौति दिएको कोरोनाको कारण महिनौ भइसक्यो उनी साँझ धर फर्कीँदा पसिनाले निथ्रुक्कै भिजेका लुगाबाट आएको गन्धबाहेक खल्तीमा सुको आम्दानी हुँदैन । उनी दुखी छन् ।

लोकपथसँगको कुराकानीमा उनले भने, परिवारलाई बन्दाबन्दी देखी नै हात मुख जोर्न गार्हो अवस्था छ । बन्दाबन्दी त खुल्यो तर बजारमा मानिसको चहलपहल छैन, दिनभर रिक्सामा निदाएर घर फर्कनुपर्छ । उनी मलिन सुनिन्छन् ।

लकडाउन बन्दाबन्दीको बेलामा पनि उनी र उनीजस्तै रिक्साचालक २ महिना भन्दा बढी सयम सरकारको अनुरोध र नियम मानेर बसे । सरकारले लिएको लुजडाउनमा पनि उनको रिक्सा गुड्न सकेन । त्यसपछि जोरबिजोर प्रणालीपछि मानिसहरुको आवतजावत केही बढ्यो तर यात्रु भेटिँदैनन् । खुईय गर्दै उनी थप्छन् ।

अरुबेला दैनिक रिक्सा चलाएर १५ सय देखि २ हजारसम्म खल्तिमा हाल्ने गरेका हर्क बहादुरले अहिले दिनमा ५ सय पनि मुस्किलले कमाउँछन् । अहिले त कुनै पसलमा सामान लैजानु पर्यो भने कमाई हुने हो मान्छे त रिक्सा नै चड्दैनन् । उनले भने ।

 

कोरोना महामारी अघि उनी ठमेलमा अन्तर्राष्ट्रिय पर्यटकलाई सेवा दिन्थे । विदेशी दंग पर्दै शहर घुम्थे । तर अहिले उनले विदेशीहरु देखेका पनि छैनन् ।
कोरोनाको कारण नआएका होलान् । उनी अनुमान लगाउँछन् ।

उनी थप्छन्, “ठमेल सुनसान भै हाल्यो चाडवाडको बेला यसो यात्रु भेटिए भने दशैँमा मिठो खाने र बच्चा बच्चिलाई एक सरो लुगा किनिदिने मन छ ।”

न पर्यटकहरु छन् न सामान किनमेल गर्ने मान्छ । हामीलाई पनि कोरोनाको डर छ । कोरोनाको डरभन्दा भेको पेटको कहर छ । दशैँको बेला यस्तो सुनसान हुने ठाउँ हो यो ? असनबाट इन्द्रचोक जाने गल्लि तिर हातको इसाराले देखाँउदै उनी प्रतिप्रश्न गर्छन् ।

उनले भावुक हुँदै सुनाए : यसपालि त घर पनि जान्न होला कसरी जानु ? खर्च छैन । खालि हात कसरी जानु ? घरमा पनि आश गरेर बसेका हुन्छन् । खालि हात जानुपर्दा र मेरो अवस्था देख्दा परिवारको मन कति कुँडिदो हो ? यति भनिनसक्दै उनले तप्प आँशु चुहाए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?