२०७७, ८ कार्तिक शनिबार ०४:००

आज महाअष्टमी : यसकारण दिइन्छ बलि


प्रकाशित मिति : २०७७, ८ कार्तिक शनिबार ०४:००

काठमाडौं । नवरात्रिको आठौँ दिनलाई महाअष्टमी भनिन्छ । यस दिन महाकाली (भद्रकाली)को विशेष पूजाआजा गरिन्छ ।

भागवतका अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली करोडौँ योनी (शक्ति) का साथ यसै अष्टमीका दिन उत्पन्न हुनुभएकोले यस दिन उहाँको पूजा सोह्र सामग्रीले पूजा गर्ने गरिन्छ । पूजापश्चात् यी देवीलाई बोका, कुखुरा, हाँस, खसी, राँगो आदि बलि दिइन्छ ।

यी दिनहरूमा मानिसहरू आ- आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजा गरी बलि दिने गर्दै आएको छ ।

सात्विकहरूले नरिवल, कुभिण्डो, केरा, घिरौंला, आदि फल अर्पण गर्दछन् । यसै दिन दशैँघर (हनुमानढोका)को मूल चोकमा तलेजु भवानीलाई ५४ राँगा र त्यत्ति नै बोका बलि अर्पण गरिन्छ । महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ । महागौरि आठ बर्षको उमेरमै कठोर तपश्यामा लिन हुदाँ शरीरकालो भएको थियो र साक्षात् शिवले गंगा जलद्वारा स्नान गराए पछि यिनको शरीर गोरो भएका कारण महागौरि भनिएको हो ।

महागौरि शिव भगवानकी शक्ति मानिन्छिन् । महागौरिको पूजा गर्नाले चित्त शान्त हुन्छ भने , विवाह सम्बन्धी सम्पूर्ण समस्याको निराकरण हुने शास्त्रमा बताउँछ ।

यस दिन आफ्ना कुलदेवी कोत घरमा वलि पनि दिने प्रचलन छ तर वली अर्थ खासमा हिंसा भने होईन वली भनेको त निवेदन अथवा उपहार हो ।
बली भनेको मनुष्यमा रहेको काम, क्रोध लोभ, मोह अहंकर रुपी पशुलाई भगवतीको चरणमा अर्पण गर्नु भनिन्छ । यस दिन देवीको बाहन सिंहलाई बिधिवत पूजन गर्ने र हात हतियार हरुको पूजा गर्ने प्रचलन पनि रहेको छ । महागौरिको पूजाको दिन नरिवलो प्रशाद लगाएर सबैलई बँढेंर खानाले सकल मनोरथ पुराहुने मनिएको छ ।

आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँदैछ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ ।

आजको दिन शास्त्रसम्मत रूपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाको विशेष पूजाआजा गरिनाका साथै दुर्गा सप्तशती, श्रीमद्देवीभागवत् र देवी स्तोत्र पाठ गरिन्छ । विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्षप्राप्तिको चाहना गर्ने हुनाले देव मन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनिमा जन्म लिने शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए ।

“सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ, सात्विक जल, चन्दन र अक्षतालगायत षोडशोपचारले गरिने पूजा हो, सात्विक र पशुबलिसहितको पूजालाई राजस पूजा भनिन्छ, राजसका साथै मदिरा पनि चढाएर गरिने पूजालाई तामस पूजा भनी शास्त्रमा परिभाषित गरिएकाले पशुबलि पनि शास्त्रीय हो”, उनले भने ।

ब्राह्मणका लागि भने पशुबलि वर्जित गरिएको अध्यक्ष गौतमले बताए ।

आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्व रहेको उनको भनाइ छ । दुर्गा शप्तशती चण्डीको आठौँ अध्यायमा पनि यससम्बन्धी चर्चा भएकाले पशुबलिलाई अशास्त्रीय भन्न नमिल्ने डा गौतम बताउँछन् ।

“राज्य सञ्चालकले त प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशुबलि विधिपूर्वक दिनैपर्छ भन्ने शास्त्रीय वचन छ”, उनले भने । यी तीन शक्ति दुर्गाबाट मात्र प्राप्त गर्न सकिन्छ ।

आजैका दिन राति पशुबलिको विधि र पूजाआजासहित कालरात्रि मनाउने गरिन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै भएकाले यसको विशेष महत्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ ।

आजका दिन काठमाडौँ उपत्यकाभित्रका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायत मन्दिरमा पनि बलिसहित पूजाआजा गर्नेको बिहानैदेखि भीड लाग्छ । तर कोरोनाको कहरकाबीच आएको दशैँमा सरकारले मन्दिरहरु खुल्ला गरेको छैन ।

यसैगरी उपत्यका बाहिरका नुवाकोटका देवीघाट र भैरवी, गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेल्धुराको उग्रतारा, काभ्रेपलाञ्चोकका चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालिञ्चोक भगवतीलगायत शक्तिपीठमा पनि बलिसहित पूजाआराधना गर्ने श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गरेमा यसपटक कोरोनाबाट बच्नको लागि यी मन्दिरहरु पनि बन्द गरिएको छ ।

आजको दिन कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेष रूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलिसहित पूजाआजा गरिन्छ । यी साधनलाई देवीको शस्त्रास्त्रका रूपमा मानी पूजा गरिन्छ ।

देवीका शस्त्रास्त्रसहित चतुरङ्गिणी सेनाको पनि आह्वान गरी पूजा गरिन्छ ।

पशुबलि नचढाउनेले भने आज पूजाकोठामा काँक्रो, घिरौँला, कुभिण्डो, मूला, नरिवल आदि बलि चढाई पूजाआजा गर्छन् ।

आज राति हनुमानढोकाको दशैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गरिन्छ ।

प्रतिक्रिया दिनुहोस