नेपाली बजारमा आउँदै मार्सी बियर, कसरी शुरु भयो नेपालमा ‘बियर कल्चर’ ?

प्रस्तुत कोईराला /काठमाडौं । करिब ३ वर्ष अगाडि नेपालमा मार्सी चामल पाइन्छ भन्नेमा धेरै अनविज्ञ थिए । तर पछिल्लो ३ वर्षमा मार्सी चामलको चर्चा एकाएक बढ्न थाल्यो र यो चामलले राम्रै बजार पनि पायो । मार्सी चामलको सम्भावना धेरै रहे पनि सम्भावना अनुसारको उत्पादन भने हुन सकेन र देशव्यापी रुपमा मार्सी चामल पनि उपलब्ध हुन सकेन ।

झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईको घरमा तत्कालीन पार्टी अध्यक्ष के पी शर्मा ओली र पुष्पकमल प्रचण्डले मार्सी चामलको भात खाएको फोटो सार्वजनिक भएपछि मार्सी चामलले एकाएक चर्चा पाएको थियो । अहिले ती व्यवसायी प्रसाइले मार्सी चामलकै लोकप्रियतालाई ध्यानमा राखेर मार्सी चामल नै मिसाएर मार्सी बियर बजारमा भित्राउने तयारी गरिरहेका छन् ।
जसका लागी उनले भैरहवाको टाइगर ब्रुअरीको बियर फ्याक्ट्री करिब चार अर्बमा किनेका छन् । टाइगर ब्रुअरीले टेन्सबर्ग बियर उत्पादन गर्दै आएको थियो । प्रसाईंले टेन्सबर्गसँगै मार्सी बियर पनि एकैसाथ बजारमा ल्याउन लागेका हुन् ।

स्वदेशमा उत्पादित मार्सी र स्वदेशमै खपत गर्ने उद्देश्यका साथ मार्सी बियर नेपालमा शुरु गर्न लागीएको हो । तर बियरमा ७० प्रतिशत जौँ को प्रयोग हुने गरेको छ भने ३० प्रतिशत चामलको प्रयोग हुने गरेको छ । सो चामलको स्थानमा स्वदेशमै उत्पादित मार्सी चामल प्रयोग गरिन्छ भने जौँ आयात गर्नुको विकल्प छैन ।

मार्सी बियरको ट्रेडमार्क पनि दर्ता भइसेकेको छ भने उत्पादनको अन्तिम चरणको काम चलिरहेको छ । प्रसाईले किनेको टाइगर ब्रुअरीको बियर फ्याक्ट्रीको क्षमता २२ हजार बोत्तल प्रतिघन्टा रहेको छ ।

नेपालमा बियरको इतिहास
वि।सं। २०४६ तिर नेपालमा खासै बियरको बजार थिएन । नेपालमा धनाढ्य परिवारका केही व्यक्तिले मात्र विदेशबाट आयात गरेर बियर पिउने गर्दथे । जब विस्तारै बियरको बजारको सम्भावना देखियो त्यति बेला युनाइटेड ब्रुअरी बियर उत्पादन कम्पनीको स्थापना गरियो । सो कम्पनीले स्टार गोल्ड बियर उत्पादन गर्न थाल्यो र त्योसँगै नेपालमा नेपालमै उत्पादित बियरको औपचारिक विक्री वितरण पनि सुरु भयो । तर त्यतिबेला बियरको धेरै माग थिएन ।
अहिले नेपालमा बियर उत्पादन गर्ने कम्पनीहरु १० वटा रहेका छन् । मूख्य रुपमा गोरखा, सीजी, टाइगर, यती, माउन्ट एभ्रेष्ट, राज, हिमालय, शेर्पा, याक र नेपाल ब्रुअरीले नेपालमा बियर उत्पादन गर्दै आएका छन् ।

अहिले नेपाली बजारमा मासिक १२ लाख कार्टुन बियरको माग रहेको छ । सो अनुसार वार्षिक १ करोड ४४ लाख कार्टुन बियर नेपालमा खपत हुने गरेको छ । नेपालको आफ्नै उत्पादनले नेपालमा हुने बियरको माग धानिरहेको छ ।

नेपालमा बियर उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ भने सबै आयात गर्नुपर्ने स्थिति रहेको छ । अलिकति कच्चा पदार्थ नेपालमा नै उत्पादन गर्न सकिने भएपनि बियरको माग अनुसारको कच्चा पदार्थ नेपालमा उत्पादन गर्न सम्भव रहेको छैन । बियरको उत्पादन होप, विभिन्न जडीबुटी, फलफूल लगायतका वस्तुबाट उत्पादन गरिने गरिएको छ ।

नेपालमा रहेको १० वटा बियर उद्योगले सरकारलाई अर्बमा राजश्व तिर्दै आएका छन् । बियर कम्पनीबाट सरकारलाई प्रति कार्टुन १२ सय ८७ रुपैयाँ अन्तशुल्क राजश्व र साढे २ सय देखि ३ सय रुपैयाँसम्म मूल्यअभिवृद्धि करका रुपमा राजश्व प्राप्त हुने गरेको छ । त्यस्तै उत्पादकले बियर विक्री वितरणवापत गरिएको आम्दानीमार्फत् आयकर समेत तिर्ने गरेका छन् ।

अन्तशुल्क कर र मूल्य अभिवृद्धि कर गरेर प्रति कार्टुन १५ सय ८७ रुपैयाँ सरकारलाई कर तिर्दै आएका छन् । वर्षमा औषत १ करोड ४४ लाख कार्टुन उत्पादन गर्ने बियर कम्पनीहरुमार्फत् सरकारले २२ अर्ब ८५ करोड २८ हजार रुपैयाँ दुईथरि राजश्व मात्रै बुझाउँछन् ।

पछिल्लो समय कोरोनाको प्रभावले बियरको माग करिब ५० प्रतिशतले घटेको छ । व्यवसायीहरुका अनुसार बियरको विक्री वितरण मासिक ६ लाख कार्टुनमा खुम्चिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?