शारदीय नवरात्रको आठौँ दिन, आज माहागौरीको पूजा गरिँदै

काठमाडौं । शारदिय नवरात्रको आठौँ दिन आज माहागौरीको पूजाआजा गरिन्छ । दुर्गापूजाको आठौँ स्वरुप महागौरीको पूजाको पनि आफ्नो छुट्टै विधिविधान रहेको पाईन्छ । यिनको शक्ति अमोघ रहेको छ भने यिनको उपासनाद्वारा भक्तको पूर्वसञ्चित पापको समेत नष्ट गराउने शक्ति रहेको पाईन्छ । यि देवीको उपासनाले भविष्यमा समेत पाप–सन्ताप समेत नष्ट हुने शास्त्रीय मान्यता रहेको छ ।

सेतो वर्ण र सेतो पहिरन गरेकी, वृष वाहन भएकी, चार हात भएकी देवीलाई महागौरी भनिन्छ । यी देवीको माथिल्लो दाहिने हातमा अभयमुद्रा, तल्लो दाहिने हातमा त्रिशूल छन् भने बायाँ हातको माथिल्लो हातमा डमरु र अर्को बायाँ हातमा वरमुद्रा छन् । यी देवीको मुद्रा शान्त खालको देखिन्छ । यी माताको स्वरूप गोरो वर्णको छ । यीनको सबै कपडा र गरगहना पनि सेतै छन् । शिव पुराणका अनुसार माहागोरीलाई आठ वर्षको उमेरमा पुर्वजन्मको आभाष भएको थियो त्यसैले आठ वर्षको उमेरबाट नै श्रीमाहादेव स्वामी पाउ भनि तपस्या शुरु गर्नुभयो । बाल्यकालमा पार्वती हुँदादेखि नै शिव पति पाउन यिनले कठोर तपस्या गरेकी थिइन् ।

यिनको प्रतिज्ञा थियो कि महादेवलाई पाए वरण गर्छु, नत्र कुमारी नै भएर बस्छु । यस कठोर तपस्याको कारण यिनको शरीर एकदम कालो हुन पुगेको थियो । यिनको तपस्याले खुसी भएका शिवजीले यिनको शरीरलाई गंगा जलमा गएर नुहाइदिएपछि उनी गोरी भइन् र उनको नामै गौरी रहन गएको हो र यी देवीको शक्ति अमोघ छ र प्रत्यक्ष फल दिने हुन्छ । यी भगवतीको भक्ति आराधना गर्नाले भक्तजनहरूको सबै दोष नाश हुन्छ र पछिसम्म पनि बाधा आउन छोड्छ । जो कोहीले पनि मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको छ ।

आजको दिन बिभिन्न शक्तिपिठहरुका बलि पनि दिईन्छ । सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ, सात्विक जल,चन्दन, र अक्षतालगायत षोडशोपचारले गरिन्छ । त्यस्तै सात्विक र पशुबलिसहितको पूजालाई राजस पूजा भनिन्छ, राजस पूजामा मदिरा चढाएर पूजा गरिन्छ भन पशुबलि पनि दिईन्छ ।

उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली,नक्साल भगवती,शोभा भगवती, विजेश्वरी, इन्द्रायणी,रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही,दक्षिणकाली,चामुण्डा,सुन्दरीमाईलगायत मन्दिरहरुमा पनि बलिसहित पूजाआजा गरिन्छ भने उपत्यका बाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी,डढेलधुराको उग्रतारा,काभे्रपलाञ्चोकको चण्डेश्वरी,नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती,दोलखाको कालीञ्चोक भगवतीलगायतका शक्तिपीठहरुमा पनि बलि सहित पूजा तथा आराधना गरिन्छ । पशुबलि नचढाउनेहरुले भने आज पूजा कोठामा आ–आफ्नो कूल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो,मूला र नरिवल आदि बलि चढाइ पूजाआजा गर्ने गर्दछन् ।

आजको दिन आफुले प्रयोग गर्ने कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेषरुपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलिसहित पूजाआजा गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्र अस्त्रका रुपमा मानी पूजा गर्ने गरिएको हो ।

माहागौरी मन्त्रः
ओम देवी महागौर्यै नमः।।

माहागौरी प्रार्थनाः
श्वेते वृषेसमारूढा श्वेताम्बरधरा शुचिः ।
महागौरी शुभं दद्यान्महादेव प्रमोददा ।।

महागौरी स्त्रोत पाठः
सर्वसंकट हंत्री त्वंहि धन ऐश्वर्य प्रदायनीम् ।
ज्ञानदा चतुर्वेदमयी महागौरी प्रणमाभ्यहम् ।।
सुख शान्तिदात्री धन धान्य प्रदीयनीम् ।
डमरूवाद्य प्रिया अद्या महागौरी प्रणमाभ्यहम् ।।
त्रैलोक्यमंगल त्वंहि तापत्रय हारिणीम् ।
वददं चैतन्यमयी महागौरी प्रणमाम्यहम् ।।

माहागौरीको ध्यान मन्त्रः
वन्दे वांछित कामार्थे चन्द्रार्घकृत शेखराम् ।
सिंहरुढा चतुर्भुजा माहागौरी यशस्वनीम् ।

ज्यो.दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?