फर्स्ट माइक्रोफाइनान्सको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेको छ । नेप्सेमा सुचिकृत २ सय ९ कम्पनी मध्ये फर्स्ट माइक्रोफाइनान्स पहिलो कम्पनी बनेको छ ।

माइक्रोफाइनान्सको चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार २ करोड ९७ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको यसै अवधिको तुलनामा २८ लाख ७८ हजार रुपैयाँले धेरै हो । गत आवको पहिलो त्रैमासमा लघुवित्तले २ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

लघुवित्त कम्पनीहरुलाई थोक कर्जा प्रवाह गर्ने यस कम्पनीले असोज मसान्तसम्ममा कम्पनीले बैंक तथा वित्तीय संस्थाहरुबाट ५ अर्ब ९४ करोड ८१ लाख ९ हजार रुपैयाँ सापटी लिएर ६ अर्ब ३ करोड १७ लाख ६८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यसबाट लघुवित्तले ५ करोड २७ लाख ५७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा १ करोड २ लाख ७७ हजार रुपैयाँ धेरै हो । अघिल्लो आवको तुलनामा ब्याज आम्दानी ४ करोड ८० लाख रुपैयाँले घटेको कम्पनीको ब्याज खर्च पनि ५ करोड ८२ लाख रुपैयाँले घट्दा खुद ब्याज आम्दानीमा भने सुधार भएको छ ।

अघिल्लो आवको पहिलो त्रैमासमा १७ करोड ९२ लाख ब्याज आम्दानी गरेकोमा चालु आवको यसै अवधिमा १३ करोड १२ लाख मात्र आर्जन गरेको छ । यस्तै गत आवमा १३ करोड ६७ लाख ब्याज खर्च गरेको कम्पनीके चालु आवको यसै अवधिमा ब्याजखर्च ७ करोड ८५ लाखमा रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ४८ लाख १२ हजार रुपैयाँ बढेर ४ करोड ७१ लाख ६८ हजार रुपैयाँ पुगेको छ । चुक्ता पूँजी ८७ करोड ६८ लाख ११ हजार रुपैयाँ रहेको फर्स्टले वार्षिक प्रतिशेयर आम्दानी १३ रुपैयाँ ५६ पैसा कायम गरेको छ ।

लघुवित्तको जगेडा कोषमा १६ करोड ६० लाख रुपैयाँ कायम रहँदा प्रतिशेयर नेटवर्थ ११८.९४ रुपैयाँ रहेको छ । लघुवित्तको खराब कर्जा अनुपात शुन्य प्रतिशत कायम रहँदा मूल्य आम्दानी अनुपात ४१.७५ गुणा कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?