दशैँ भत्ता फिर्ता गर्ने घोषणा गर्दै प्रकाशमान सिंहको सांसदहरुलाई यस्तो आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दशैँ फिर्ता गरेका छन् । काठमाडौं क्षेत्र नं १ बाट निर्वाचित सांसद समेत रहेको नेता सिंहले महामारीको बेला सरकारले सांसदहरुलाई दशैँ भत्ता दिएर बदनाम गराउन खोजे समेत बताएका छन् ।

नेता सिंहले सोमवार एक विज्ञप्ति जारी गर्दै तलब भत्ता दिएर सांसदहरुलाई बदनाम गराउन खोजेको जनाउँदै सरकारको उक्त प्रयासलाई विफल बनाउन समेत आग्रह गरेका छन् ।

दशैँ भत्ता भन्दै मेरो नाममा आएको रकम फिर्ता गर्ने जानकारी गराउँदछु । साथै नेपाली कांग्रेस पार्टीका तर्फबाट नै सांसदहरुलाई आएको दशैंभत्ता फिर्ताको निर्णय गरेर आफुजस्तै सांसदहरुलाई पनि बद्नाम बनाउने सरकारको प्रयासलाई विफल बनाउन म आग्रह गर्न चाहन्छु । ” उनले भने ।

कोरोना महामारीको कारण नागरिकहरु समस्यामा रहँदा सरकार आफ्नो जिम्मेवारीबाट भाग्ने र अनुत्तरदायी बन्ने बाटोमा अग्रसर रहेको समेत आरोप लगाएका छन् ।

चीनको बुहानबाट कोरोना शुरु भएदेखिनै संसदमा कांग्रेसले रोकथाम तथा नियन्त्रणमा गम्भीर बन्न आग्रह गरेपनि सरकार भने गैरजिम्मेवार अभिव्यक्तिमै रुमल्लिएको उनले बताए ।

नागरिकहरु समस्यामा रहँदा सरकार आफ्नो जिम्मेवारीबाट भाग्ने र अनुत्तरदायी बन्ने बाटोमा अग्रसर छ । चीनको बुहानबाट कोरोना भाइरस फैलिएलगत्तै कांग्रेसले संसदमा नै सरकारलाई कोरोना रोकथाम र नियन्त्रणका लागि गम्भीर बन्न आग्रह गरेको र त्यसका लागि आफुले गर्नुपर्ने सम्पुर्ण सहयोग गर्ने प्रतिवद्दता जनाएको सबैलाई थाहै छ । तर, सरकार समय छँदा गैरजिम्मेवार अभिव्यक्तिमै रुमल्लियो ।” जारी विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ विज्ञप्ति 

अहिले विश्वनै कोरोना महामारीको मारमा रहेका बेला नेपाल पनि अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको छ । नागरिकहरु समस्यामा रहँदा सरकार आफ्नो जिम्मेवारीबाट भाग्ने र अनुत्तरदायी बन्ने बाटोमा अग्रसर छ । चीनको बुहानबाट कोरोना भाइरस फैलिएलगत्तै कांग्रेसले संसदमा नै सरकारलाई कोरोना रोकथाम र नियन्त्रणका लागि गम्भीर बन्न आग्रह गरेको र त्यसका लागि आफुले गर्नुपर्ने सम्पुर्ण सहयोग गर्ने प्रतिवद्दता जनाएको सबैलाई थाहै छ । तर, सरकार समय छँदा गैरजिम्मेवार अभिव्यक्तिमै रुमल्लियो । कोरोना नियन्त्रणका नाममा करोडौं रकम अनियमिततामा समेत सरकार मुछियो । जनता कोरोनासँग संघर्षमा रहँदा सरकारका मन्त्रीहरु मेडिकल सामाग्री खरिदका नाममा विचौलिया पोस्ने र कमिसनको चक्करमा रमाउने गरेको देखियो । महामारीको यस्तो संकटपुर्ण बेलामा सरकार अत्यन्त अमानवीय र असंवेदनशिल देखिएकोमा हामी खेद व्यक्त गर्न चाहन्छौं ।
विकास कि जनताको जीवन ? भन्ने प्रश्न आउँदा जनताको जीवन सुरक्षा पहिलो प्राथमिकता हुनुपर्छ । त्यसैले कांग्रेसले कोरोना शुरु हुनासाथ संसद विकास कोषको रकम कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्च गर्न माग गर्दै आयो । तर, १२ अर्ब सकिएको सरकारले हिसाव देखाउँदा जनताले सही काममा सो रकम खर्च भयो भनेर विश्वास गर्ने कुनै ठाउँ रहेन । न मेडिकल सामाग्री खरिद गरिएको छ । न त उपयुक्त आइसोलेसन वार्ड बन्यो । न त भेन्टिलेटर बनाइयो, न आइसियु वार्ड नै थपिएको छ । जनताले करिब दुई तिहाई मत दिएर बनेको सरकार इतिहासमै जनताप्रति गैरजिम्मेवार सरकारका रुपमा स्थापित हुन पुगेको छ । एकातिर जनतालाई पीसीआर परिक्षण समेत आफ्नै खर्चमा गर भन्ने र अर्कोतिर संघीय संसदका सांसदहरुलाई दशैंभत्ता दिने सरकारी निर्णय निन्दनीय छ । आफु भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबेको सरकारले अन्य राजनीतिक दल र सांसदहरुलाई पनि दशैं भत्ताका नाममा बद्नाम गर्ने दुराशय राखेको प्रष्ट छ । महामारीका बेलामा सांसदहरुलाई दशैंभत्ता दिएर जनताको नजरमा आलोचित बनाउने सरकारको सुनियोजित योजनाविरुद्ध कांग्रेस उभिनुपर्छ, उभिन्छ । तसर्थ, दशै.भत्ता भन्दै मेरो नाममा आएको रकम फिर्ता गर्ने जानकारी गराउँदछु । साथै नेपाली कांग्रेस पार्टीका तर्फबाट नै सांसदहरुलाई आएको दशैंभत्ता फिर्ताको निर्णय गरेर आफुजस्तै सांसदहरुलाई पनि बद्नाम बनाउने सरकारको प्रयासलाई विफल बनाउन म आग्रह गर्न चाहन्छु ।
जय नेपाल
प्रकाशमान सिंह प्रतिनिधिभा सदस्य, काठमाडौं क्षेत्र नं १

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?