कोभिड–१९ महामारीका कारण यस वर्ष दसैं सुरु भइसक्दा पनि काठमाडौं उपत्यका छाड्ने र भित्रनेको संख्यामा खासै अन्तर देखिएको छैन ।
अघिल्ला वर्षहरूमा घटस्थापनादेखि नै दैनिक ७० देखि ७५ हजार मानिसले उपत्यका छाड्ने गरेकामा यस वर्ष उक्त संख्या २० देखि २५ हजार मात्रै छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकाल पनि गत वर्षको तुलनामा दुई तिहाइ भीडभाड कम भएको बताउँछन् ।
महाशाखाका अनुसार शनिबार घटस्थापनाको दिन ४ हजार ७ सय २१ सवारीसाधनमार्फत २१ हजार ४ सय ७२ यात्रु उपत्यकाबाट बाहिरिए । त्यस दिन ४ हजार ४ सय ७ सवारीमार्फत १६ हजार ६ सय ३९ यात्रु भित्रिए । त्यस्तै, आइतबार ४ हजार ६ सय ८५ सवारीसाधनमार्फत १७ हजार ३ सय जना भित्रिएकामा ४५ हजार ५ सय ७२ सवारीसाधनमार्फत २१ हजार ५ सय ७३ जना यात्रु बाहिरिएका छन् ।
‘अब फूलपातीसम्म बाहिर जानेको संख्या बढ्ने र भित्रिनेको संख्या कम हुँदै जान्छ,’ ढकालले भने ।
असोजयता ६ लाख ५ सय ५४ जनाले काठमाडौं उपत्यका छाडेका छन् । यस अवधिमा ५ लाख ५४ हजार ५ सय ३७ यात्रु भित्रिएका छन् । गत वर्षको तुलनामा यस वर्ष उपत्यकाबाट बाहिरिने र भित्रिनेको संख्यामा खासै भिन्नता नदेखिएको महाशाखाका प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक रामेश्वरप्रसाद यादवले बताए । महाशाखाले सार्वजनिक सवारीसाधनको अनुगमन र कारबाहीलाई तीव्रता दिएको छ । क्षमताभन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने भाडाका सवारीसाधन, मिटरमा जान नमान्ने र यात्रु लिन इन्कार गर्ने ट्याक्सीहरूलाई महाशाखाले कारबाही गर्न थालेको हो । प्रवक्ता यादवका अनुसार आइतबार मात्रै बढी भाडा लिने ४३ ट्याक्सी र ४८ वटा अन्य सवारीसाधन कारबाहीमा परेका छन् ।
महाशाखाले उपत्यकाको सवारी आवागमनलाई सहज बनाउन, सडक प्रयोगकर्ताहरूको सुरक्षा सुनिश्चितता, सवारी दुर्घटना न्यूनीकरण र चाडपर्वमा हुन सक्ने ठगी नियन्त्रणका लागि सुरक्षा योजना लागू गरेको छ । कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया