ईयूसँगको व्यापार सम्झौताको लागि ढोका ‘खुला’ रहेको बेलायतको भनाइ

लण्डन । युरोपेली संघ (ईयू)सँग ब्रेक्जिट पछिको व्यापार सम्झौतामा पुग्न चाहेको बेलायत सरकारले आइतवार बताएको छ ।

बेलायतले सम्झौताको लागि गत हप्तासम्मका लागि ईयू शिखर सम्मेलनको म्याद थपेको थियो । तर प्रधानमन्त्री बोरिस जोनसनले ईयूले राखेका शर्तमा नै सम्झौता गर्न बेलायत तयार नभएको बरु सम्झौताहीन अवस्थामा ब्रेक्जिटका लागि तयार हुने बताएका थिए ।

यद्यपि वरिष्ठ मन्त्री माइकल गोभले आइतवार आफू अझै पनि ईयूसँग व्यापार सम्झौताका लागि आशावादी रहेको बताए । उनले बेलायती एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा सम्झौताका लागि ढोका ‘खुला’ रहन्छ तर यसका लागि ईयूले आफ्नो अडान बदल्नु पर्ने बताए।

दुवै पक्ष निष्पक्ष प्रतिस्पर्धाका नियमहरूमा असहमत छन्, यी नियमहरू कसरी लागू हुन्छन् र युरोपेली युनियन सदस्य राष्ट्रले बेलायतको पानीमा माछा मार्ने कति पहुँच पाउँछन् भन्ने विषयले सम्झौता हुने वा नहुने कुराको निर्धारण गर्ने देखिएको छ ।

बेलायतले आफ्नो पानीमाथि सार्वभौमिकता पुनःस्थापित गर्न चाहन्छ र यस सम्झौतामा बेलायतले ईयू–क्यानडाबीच भएको जस्तो साधारण व्यापार सम्झौता चाहन्छ । ईयूले बेलायतको अवस्था क्यानाडाभन्दा बिल्कुलै फरक रहेको बताउँदै आएको छ ।

गोभले स्काई न्यूजसँग भने, “म सम्झौताको पक्षमा छु र एउटा निष्कर्षमा पुग्न चाहन्छु तर त्यसो हुनको लागि दुवै पक्षले केही छोड्न र मध्यमबाटो अवलम्वन गर्न आवश्यक छ । ईयूले अहिले त्यस्तो गरिरहेको छैन ।” सम्झौतामा पुग्न उनीहरू (ईयू–सदस्य राष्ट्रहरू) गम्भीर नबनेको उहाँको आरोप छ ।

युरोपेली आयोगका प्रमुख वार्ताकार मिशेल बार्नियर र उनका बेलायती समकक्षी डेभिड फ्रस्ट सोमबार वार्ताको संरचनाको बारेमा छलफल गर्ने कार्यक्रम रहेको ईयुले उल्लेख गरेको छ ।
“बल उहाँको हातमा छ,” गोभले बार्नियरप्रति सङ्केत गर्दै भने।

सम्झौता गर्न असफल भएमा बेलायत र युरोप उच्च कर र कोटाहरूको साथ विश्व व्यापार संगठनको शर्तमा फर्किनेछन् जसले महामारी पहिले नै कमजोर अर्थतन्त्रलाई थप सङ्कटतर्फ धकेल्ने सम्भावना छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?