संघ र प्रदेशका लागि काँग्रेस र माओवादीले छाने उम्मेदवार

तेह्रथुम, ११ असोज (रासस)दलहरुले संघीय र प्रादेशिक निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न थालेका छन् ।नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले संघीय र प्रादेशिक निर्वाचनमा जिल्लाबाट आकांक्षी उम्मेदवारको नाम चयन गरी सिफारिस गरेका हुन् । नेकपा (एमाले)लगायत दलले समेत आन्तरिक तयारी थालेका छन् ।काँग्रेस र माओवादी केन्द्रले संघीय निर्वाचनमा प्रत्यक्षतर्फ सर्वसम्मत उम्मेदवार चयन गरेका छन् । काँग्रेसले केन्द्रीय सदस्य तथा राज्यमन्त्री सीता गुरुङलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ ।संघको निर्वाचनमा समानुपातिकतर्फ काँग्रेसले पूर्वसांसद तुलसी सुब्बा, सांसद गणेश विमली, पूर्वजिल्ला सभापति रामनारायण ढुंगाना, गुरुप्रसाद भट्टराई र राज्यप्रसाद लिम्बूको नाम सिफारिस गरेको छ । यस्तै प्रादेशिक निर्वाचनमा क्षेत्र नं १ मा प्रत्यक्षतर्फ जिल्ला सभापति गोविन्द ढुंगानालाई सिफारिस गरिएको छ ।यस्तै समानुपातिकतर्फ अर्जुन तुम्बाहाम्फे, अर्जुन माबोहाङ, सन्तोष सुब्बा, विपीन सुब्बा, टेकराज तिगेलालगायत नेताको नाम सिफारिस भएको छ । क्षेत्र नं २ मा प्रत्यक्षतर्फ नारायणकुमार इङ्नाम, बालकुमार गुरुङ र उत्तमसिंह थाम्देनको नाम सिफारिस भएको छ ।समानुपातिकतर्फ केशव भेटुवाल, गणेश घिमिरे, भीष्म थपलिया, हरिप्रसाद डाँगी, हेमन्त गुरुङ, केदार गहतराज र जमुना बर्देवालगायतको नाम जिल्लाबाट सिफारिस भएको छ ।माओवादी केन्द्रले भने संघीय निर्वाचनमा प्रत्यक्षतर्फ केन्द्रीय सल्लाहकार विजय सम्बाहाम्फेलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । समानुपातिकतर्फ केन्द्रीय पोलिटब्यूरो सदस्य तथा जिल्ला इञ्चार्ज दुर्गाप्रसाद चापागाईं र पूर्वविधायक फुर्वी शेर्पाको नाम सिफारिस भएको छ । प्रदेशतर्फ क्षेत्र नंं १ मा इन्द्रबहादुर इम्सङ र गणेशकुमार सेनेको नाम सिफारिस भएको छ ।समानुपातिकतर्फ दिलकुमारी लिम्बू र तेजेन्द्र कुरुम्बाङ सिफारिस गरिनुभएको छ । यस्तै क्षेत्र नंं २ मा प्रत्यक्षतर्फ पोलिटब्यूरो सदस्य सुशीला कन्दङ्वा, केन्द्रीय सल्लाहकार भीमप्रसाद कन्दङ्वा र जिल्ला सहसंयोजक ताराप्रसाद भट्टराईको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ तेजमान कन्दङ्वा, बलिराज इङ्नाम र चूडामणि बरालको नाम पठाइएको माओवादी केन्द्रले जनाएको छ ।एमालेसहितका दलले पनि पार्टीभित्र आन्तरिक रुपमा उम्मेदवारको तयारी गरिरहेको बुझिएको छ । दशैँलगत्तै पार्टीले एउटा मापदण्ड बनाएर उम्मेदवार चयन गर्ने एमाले जिल्ला अध्यक्ष लक्ष्मण तिवारीले बताए । प्रदेशको निर्वाचनमा क्षेत्र नं १ मा म्याङलुङ र लालीगुराँस नगरपालिका तथा छथर गाउँपालिका पर्छन् । क्षेत्र नं २ मा आठराई, फेदाप र मेन्छ्यायेम गाउँपालिका पर्छन् ।यसअघि संविधानसभाको निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको जिल्लामा २०७० मा एमाले र २०६४ मा काँग्रेसले जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?