काठमाडौं । ललितकलाका क्षेत्रमा विश्व अभिलेख राख्ने तयारीमा नेपाली कलाकारहरु जुटेका छन् ।
अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालको अगुवाइमा विश्व अभिलेख राख्ने योजनाका साथ १०० घण्टा (चार दिन चार रात र चार घण्टा) लगातार ‘अनलाइन कला कार्यशाला’ आयोजना गर्न लागिएको हो । समाजले आज पत्रकार सम्मेलन गरी उक्त कार्यशालाबारे जानकारी गराएको हो । यसअघि ७२ घण्टा कार्यशाला आयोजना भएको अभिलेख छ ।
कोभिड–१९ को संक्रमण र यसले निम्त्याएको मानवीय समस्यालाई विश्व एक भएर लड्न आव्हान गर्दै यही कात्तिक २३, २४, २५ र २६ गते ७२ जना कलाकारको सहभागितामा १०० घण्टे ‘अनलाइन कला कार्यशाला’ आयोजना हुने आइडब्लुएस नेपालका अध्यक्ष एनवी गुरुङले जानकारी दिए । उनले कार्यशालाबारे गिनिज बुक अफ वर्ल्ड रेकर्डसँग पत्राचारको काम भइरहेको बताए।
उक्त कार्यक्रमले नेपाली ललितकला र त्यसमा काम गर्ने कलाकारलाई विश्वसामु चिनाउने र नेपाली कलाको शीर ठाडो पार्ने विश्वास लिइएको छ । यसका लागि ७२ जना नेपाली कलाकार छनोट भइसकेको र आवश्यक तयारी शुरु भएको आइडब्लुएस नेपालका सचिव केशवराज खनालले जानकारी दिए ।
कार्यशालामा बनेका कलाकृतिको प्रदर्शनी, सहभागी कलाकारको चिनारी पुस्तक प्रकाशन र भिडियो प्रदर्शनीसमेत गरिनेछ । कला समीक्षक रमेश खनालले १०० घण्टा लामो कला कार्यशालाले नेपालको गरिमा बढाउने विश्वास व्यक्त गरे। रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया