कर्णालीमा संक्रमित पाँच हजार

कर्णाली । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या कर्णालीमा पाँच हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १०३ व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पिसिआर परीक्षणमा ७०, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दुई, दैलेख अस्पतालमा २३ र चौरजहारी पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँंडेलले जानकारी दिए ।

कोरोना संक्रमण हुनेमा सुर्खेतका ६३, दैलेखका २३, सल्यान र रुकुमपश्चिमका सातसात, जुम्ला तथा जाजरकोट र कालीकोटका एकएक जना रहेको बताइएको छ । “आज १०३ व्यक्ति थपिएसँगै कर्णालीमा कोरोना संक्रमितहरुको कुल संख्या पाँच हजार १३८ पुगेको छ”, उनले भने, “पछिल्लो २४ घण्टामा १३४ जना कोरोना संक्रमणमुक्त भएर घर फर्केका छन् ।”

उनका अनुसार आज १३४ जनाले कोरोना जितेसँगै अब कर्णालीमा संक्रमणमुक्त हुनेको संख्या तीन हजार ८६२ पुगेको छ । कर्णालीका विभिन्न आइसोलेसनमा एक हजार १३२ संक्रमित रहेको उनले बताए । कर्णालीमा हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ पुगेको मन्त्रालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?