मृतकको परिवारलाई १४ लाख बीमा रकम हस्तान्तरण

दमौली । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लि तनहुँ शाखाले मृत्यु बीमा दाबी भुक्तानीबापत १४ लाख प्रदान गरेको छ । कम्पनीले व्यास नगरपालिका–१ का मृतक बीमित कृष्ण पन्थको परिवारलाई घरमै पुगी दाबी रकम हस्तान्तरण गरेको हो ।

वैदेशिक रोजगार (म्यादी) बीमाअन्तर्गत रकम राष्ट्रियसभाका सदस्य प्रकाश पन्थ, कम्पनीका गण्डकी प्रदेश प्रमुख टिएन आचार्य तथा व्यास –१ का वडाध्यक्ष खरसिं दरैले पीडित परिवारलाई आज हस्तान्तरण गरे । गत वैशाखमा वैदेशिक रोजगारका क्रममा बीमित पन्थको कतारमा निधन भएको थियो ।

चेक रकम हस्तान्तरण गर्दै सांसद पन्थले बीमा गर्दा सजिलो भए जस्तै दावी भुक्तानी गर्दा पनि विनाझण्झट रकम बीमितले पाउनुपर्नेमा जोड दिए ।

वडाध्यक्ष दरैले बीमितको निधनपछि परिवारमा हुने अर्थाभाव कम गर्न पनि जीवन बीमा आवश्यक रहेको बताए । कम्पनीका गण्डकी प्रदेश प्रमुख आचार्यले जीवन बीमा अहिलेको पस्थितिमा अपरिहार्य भएको बताउँदै कम्पनीले आफ्नो स्थापनाको छोटो समयमा नै नेपाली समुदायको मन जित्दै व्यावसायिक सफलता प्राप्त गरेको बताए ।

बीमित पन्थको मृत्यु दावी भुक्तानीअन्तर्गत शव ल्याउँदा एक लाख, किरिया खर्चबापत एक लाख, आय नोक्सानीबापत दुई लाख र बीमाङ्क रु दश लाख गरी कूल १४ लाख बराबरको चेक मृतकका बुबा भोलानाथ र श्रीमती निर्मलालाई हस्तान्तरण गरिएको कम्पनीका दमौली शाखा प्रमुख राजकुमार श्रेष्ठले जानकारी दिए ।

पहिरोपीडित परिवारलाई राहत

तनहुँका विभिन्न स्थानमा पहिराबाट ज्यान गुमाएका पीडितका परिवारलाई गण्डकी प्रदेश सरकारले राहत उपलब्ध गराएको छ । भानु र व्यास नगरपालिकामा गत असारमा पहिरोबाट ज्यान गुमाएकाका परिवारलाई सङ्घ र प्रदेश सरकारका तर्फबाट
पाँच लाख प्रदान गरिएको हो ।

भानु–९ का दुई मृतकका परिवारलाई सङ्घीय सरकारका तर्फबाट एक लाख र प्रदेश सरकारका तर्फबाट ५०/५० हजार हस्तान्तरण गरिएको छ । त्यस्तै व्यास –११ ओडारेका एक मृतकको परिवारलाई सङ्घीय सरकारका तर्फबाट एक लाख र व्यास –९ माझफाँटका चार मृतकको परिवारलाई प्रदेश सरकारका तर्फबाट ५०/५० हजार हस्तान्तरण गरिएको छ ।
भानु –९ सिमलगैह्रामा गत साउन ५ गते पहिरामा पुरिएर ८० वर्षीया तिलमाया धौराली र १५ वर्षीया शीताष्मा धौरालीको निधन भएको थियो । ओडारेका ३८ वर्षीय पदम भुजेलको असार २९ गते निधन भएको थियो । त्यस्तै असार २९ गते नै माझफाँटका ४० वर्षीया कमला थापा, २४ वर्षीय मनोज थापा, २१ वर्षीया अञ्जना थापा र २० वर्षीय राजेश थापाको मृत्यु भएको थियो ।

पीडित परिवारलाई राहत वितरण गर्दै गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले जनताको दुःखमा सरकार साथमा रहेको बताए । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले पहिरामा मृत्यु भएका परिवारलाई थप राहत दिने कार्यविधि बमोजिम व्यास–११ को भुजेलको परिवारलाई थप रु एक लाख प्रदान गरिएको जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?