२०७७, १ कार्तिक शनिबार २०:५९

मदन भण्डारी मार्ग स्तरोन्नति गरिने


प्रकाशित मिति : २०७७, १ कार्तिक शनिबार २०:५९

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले दूरी छोट्याई मदन भण्डारी मार्गको स्तरीकरण गरिने बताएका छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल, प्रधानमन्त्रीका विकासविज्ञ गजेन्द्र थपलियालगायतको टोलीसहित मदन भण्डारी मार्गमा प्रदेश सरकारले निर्माण गर्न लागेको सुरुङ निर्माणस्थलमा पुगेका मुख्यमन्त्री पौडेलले ढुवानीका साधन हेटौंँडा हुँदै काठमाडौं पुर्याउन २२८ किलोमिटर बाटो हिँड्नुपर्ने भएकाले दूरी छोट्याई मदन भण्डारी मार्गको स्तरीकरण गर्न लागिएको बताए । स्तरीकरणपछि जम्मा ५५ किमी हुने सडकलारई फराकिलो पारिने, मोड घटाउने र अनावश्यक घुम्ती र भीरलाई छोट्याउन सुरुङ निर्माण गरिने उनले स्पष्ट गरे ।

अवलोकनका क्रममा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले आवश्यकताका आधारमा आधुनिक प्रविधिको प्रयोग गरेर पुराना सडक सम्पदाको संरक्षण र स्तरीकरण गरी सहज उपयोग गर्न लागेको जनाउँदै यसमा सङ्घीय सरकारको सहयोग हुने अपेक्षा व्यक्त गरे ।

सो अवसरमा योजना आयोगका उपाध्यक्ष डा कँडेलले प्रदेश सरकारले सङ्घीय राजधानी र प्रदेश राजधानीबीच सहज आवागमनका लागि स्तरीकरण गर्नेक्रममा निर्माण गर्न लागेको सुरुङ तथा अन्य सडकखण्डमा सङ्घीय सरकारले कसरी सहयोग गर्न सक्छ भन्नेबारेमा निर्माणस्थलमै पुगेर अवलोकन गर्न यहाँ आएको बताए।

प्रधानमन्त्रीका विकासविज्ञ थपलियाले हेटौंँडा– काठमाडौंको सबैभन्दा प्राचीन र छोटो मार्ग भइकन पनि स्थायित्व लिन नसकेको मदन भण्डारी मार्गलाई स्थायी र सुरक्षित बनाउन प्रदेश सरकारले थालेको प्रयासलाई केन्द्र सरकारले सहयोग गर्ने वचन दिए। रासस

प्रतिक्रिया दिनुहोस