कोरोना संक्रमणबाट काभ्रेमा १३ को मृत्यु, १२ सय संक्रमित

काभ्रेपलाञ्चोक । काभ्रेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका घर भई बनेपा बस्दै आएका ७३ वर्षीय वृद्धको उपचारका क्रममा गए राति धुलिखेल अस्पतालमा मृत्यु भएको हो । दमको समस्याबाट पीडित उनलाई गत मङ्गलवार अस्पताल भर्ना गरिएको र उहाँको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी कोरोना संक्रमणबाट गत बिहीवार बनेपाका ७० र ५० वर्षीय दुई पुरुषको मृत्यु भएको थियो । दुबै जना मधुमेहका रोगी थिए । ५० वर्षीय पुरुष विगत एक महिनादेखि अस्पतालमा उपचाररत रहेको थियो भने ७० वर्षीय पुरुषको डायलासिसअघि कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसनमा मृत्यु भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमान्ड पोष्टले जनाएको छ । पचास वर्षीय मृतकका भाइको पनि १० दिनअघि कोरोना संक्रमणबाट नै मृत्यु भएको थियो ।

यस्तै, बेथानचोक गाउँपालिकाका ७५ वर्षीय कोरोना संक्रमित एक वृद्धाको उपचारको क्रममा गत बुधवार बनेपास्थित शिर मेमोरियल अस्पतालमा मृत्यु भएको थियो । अहिलेसम्म कोरोना संक्रमणबाट काभ्रेपलाञ्चोकमा १३ जनाको मृत्यु भइसकेको छ । तीमध्ये आठ पुरुष र पाँच महिला छन् । जिल्लामा अहिलेसम्म कोरोना संक्रमितको सङ्ख्या एक हजार २०५ पुगेको छ । तीमध्ये ४४६ महिला र ७५९ पुरुष रहेका छन् ।

कूल सक्रिय संक्रमितमध्ये ३७ प्रतिशत अर्थात् १९५ बनेपा नगरभित्रका मात्रै छन् । यस्तै, कूल सक्रिय संक्रमितमध्ये शुक्रवारसम्म सदरमुकाम धुलिखेलमा ३३ प्रतिशत छन् । यसैगरी पनौतीमा ५०, पाँचखालमा ३२, नमोबुद्धमा ३६, मण्डनदेउपुरमा २७, भुम्लु गाउँपालिकमा दुई र रोशीमा ११ जना सङ्क्रमित छन् ।

काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये पाँच गाउँपालिका कोरोनामुक्त छन् । बेथानचोक, तेमाल, खानीखोला र महाभारत गाउँपालिका कोरोना मुक्त भएका हुन् । सबैभन्दा कम सङ्क्रमण भुम्लु गाउँपालिकामा दुईजना रहेका छन् । कूल संक्रमितमध्ये ६३ प्रतिशत पुरुष रहेको पोष्टले जनाएको छ । अहिलेसम्म २२८ महिला तथा ४२५ पुरुष गरी कूल ६५३ जना उपचारपछि निको भएर घर फर्किसकेको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा नरेन्द्र झाले जानकारी दिए ।

उनका अनुसार अधिकांश संक्रमित ४५ वर्ष नाघेका तथ्याङ्कले देखाएको छ । पोष्टका अनुसार हाल सक्रिय संक्रमितमध्ये ३७ महिला र ८७ पुरुष गरी कूल १२४ जना अस्पतालको आइसोलेसनमा तथा १७३ महिला र २४३ पुरुष गरी कूल ४१६ जना होम आइसोलेसनमा छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?