काठमाडौंका १ हजार ४५१ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्रै १ हजार ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा थपिएका १ हजार ७४६ जना संक्रमित मध्ये १ हजार ४५१ जना संक्रमित काठमाडौंका रहेका छन् ।

यसैबीच बितेको २४ घण्टामा नेपालमा थप ३ हजार १६७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १५ हजार ४३८ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप ३ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा १ हजार ४५१, ललितपुरमा १५२ र भक्तपुरमा १४३ जनासहित काठमाडौं उपत्यकामा मात्रै १ हजार ७४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख २९ हजार ३०४ पुगेको छ ।

नेपालमा बितेको २४ घण्टामा थप १ हजार ८०० जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ८९ हजार ८४० पुगेको छ । यो कुल संक्रमितको ६९.४ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या ३८ हजार ७३७ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा २५ हजार ४३८ जना र संस्थागत आईसोलेसनमा १३ हजार २९९ जना छन् । तिमध्ये २९० जना संक्रमितको आईसियु र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार ७१५ जना रहेका छन् ।

यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सुनसरी, ललितपुर, भक्तपुर, चितवन, सुर्खेत, मकवानपुर, बाँके, दाङ र कास्की गरि १२ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

त्यस्तै नेपालका ७७ वटा जिल्लामध्ये मुस्ताङमा सक्रिय कोरोना संक्रमितको संख्या शुन्य रहेको छ ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ७२७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयले स्थिती अझ भयावह बन्दै गएको भन्दै थप सचेतना अपनाउन अनुरोध गरेको छ ।

हिजो (शुक्रवार) नेपालमा ४ हजार ३९२ जनामा संक्रमण पुष्टि भएको थियो । ३ हजार ५२२ जना संक्रमणमुक्त भएका थिए भने २१ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?