डा. सुधा शर्माको ‘सिंहदरबारको घुम्ने मेच’ सार्वजनिक

काठमाडौं । डा.सुधा शर्माको संस्मरणात्मक कृति ‘सिंहदरबारको घुम्ने मेच’ सार्वजनिक भएको छ । डा.शर्मा योग्यताले प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन् । उनले वि सं २०६५ असोजदेखि २०६८ मंसिरसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत सचिवको कार्यभार सम्हालेकी थिइन् ।

डा.सुधाको पुस्तकमाथि शुभकामना व्यक्त गर्दै पूर्व राष्ट्रपति रामवरण यादवले प्रतिक्रिया व्यक्त गरेका छन् उनले भनेका छन् यो पुस्तकमा तपाईंले आफ्नो प्रशासनिक र डाक्टरी जीवनको सारा अनुभव संगालेर राखिदिनु भएको छ यसले आउने पुस्तालाई केही सिक्ने मौका दिन्छ ।

डा.शर्माको पुस्तक एक महिलाको कथा हो, जसले पितृसत्ताको असक्षम संरचनामाथि उभिएको ऐनाको महललाई प्रहार गर्ने आँटको कथा बोकेको छ,’ नेपालय पब्लिकेसन्सका सम्पादक भूषिता वशिष्ठ भन्छिन्  यस पुस्तकले नेपालमा पहिचान र लिङ्गमाथि चल्ने छलफल बीच अर्थपूर्ण आयाम थप्नेछ ।

यो पुस्तक नेपालयले यसवर्षका निम्ति तय गरेको महिला शृङ्खला-२०२० अन्तरगतको अन्तिम प्रकाशन हो । यस अघि दुर्गा कार्कीको कुमारी प्रश्नहरू र भुवन ढुंगानाको परित्यक्ता सार्वजनिक भइसकेका छन् ।

‘महामारी र बन्दाबन्दीका बीच हामी हाम्रा प्रकाशनलाई सुस्तरी तर निरन्तरताका साथ सार्वजनिक गरिरहेका छौं,’ नेपालय पब्लिकेसन्सका सीईओ सैजन मास्के भन्छिन्स ‘गत महिना हामीले हाम्रो पहिलो प्राइमरी ई-पुस्तक विमोचन गर्‍यौं नेपाली पाठकहरूले सहज संचालन गर्नसक्ने प्लेटफर्महरूमा हाम्रा अघिल्ला प्रकाशनहरू अपलोड गर्दै अघि बढ्नु, डिजिटल पहुचलाई दुरुस्त पार्ने हाम्रो प्रयास हो । यसले कठिनाइका बीचमा पनि पुस्तक बजारलाई चलायमान राख्न मद्दत पुर्‍याउँछ भन्ने हाम्रो विश्वास छ ।’

रुपैयाँ ४२५ मा उपलब्ध हुने ‘सिंहदरबारको घुम्ने मेच’ देशका प्रमुख पुस्तक पसलमा सहजै उपलब्ध हुनेछ । मोटो गातामा पुस्तकको मूल्य भने ५ सय ९५ रुपैयाँ राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?