२०७७, १ कार्तिक शनिबार १०:४०

वडा सदस्यको कोरोना संक्रमणका कारण मृत्यु


प्रकाशित मिति : २०७७, १ कार्तिक शनिबार १०:४०

काठमाडौं । खैरहनी नगरपालिका वडा नम्बर १२ का वडा सदस्य ४९ वर्षीय बद्रीवहादुर पाण्डेको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उनी क्यान्सर रोगबाटसमेत पीडित थिए ।

भरतपुर अस्पतालमा उपचारका क्रममा पाण्डेको गएराति मृत्यु भएको हो ।अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उनीमा असोज २८ गते सङ्क्रमण पुष्टि भएको थियो । आईसोलेसनमा रहेका उनलाई असोज ३० गते अस्पताल भर्ना गरिएको थियो । खोकी र श्वासप्रश्वासमा समस्या रहेको उनको क्यान्सरको तेस्रो केमो चलिरहेको अवस्थामा मृत्यु भएको हो ।

अस्पतालको कोभिड सघन उपचार कक्षमा भेन्टिलेटरमा राखी उनको उपचार भईरहेको थियो । उनी नेपाली कांग्रेसबाट गएको स्थानीय तहको निर्वाचनमा विजयी भएका थिए ।

नेपाली कांग्रेस चितवनका जिल्ला सभापति जीतनारायण श्रेष्ठले पाण्डेको निधनमा गहिरो दुःख प्रकट गरेका छन् । यस अघि जिल्लाकै भरतपुर महानगरपालिका वडा नम्बर २० का निर्वाचित वडा अध्यक्षको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो ।

  • रासस

प्रतिक्रिया दिनुहोस