दसैंमा घान्द्रुक जान रोक, आफन्तलाई समेत नआउन भनियो

कास्कीको पर्यटकीय स्थल घान्द्रुकका गाउँवासीले दसैंतिहारजस्ता चाडपर्व घरमै मात्र मनाउने निर्णय गरेका छन् । घान्द्रुक पर्यटन समितिको बिहीबारको बैठकले आफूहरू टीका थाप्न बाहिर नजाने र बाहिरबाट पनि कसैलाई आउन नदिने निर्णय गरेको हो ।

‘हामी मावली, ससुराली पनि टीका थाप्न नजाने,’ समितिका अध्यक्ष किसम गुरुङले भने, ‘भान्जाभान्जी, छोरीज्वाइँ कसैलाई पनि नआउन भनिएको छ ।’

बिरामी र अन्य अत्यावश्यक कामबाहेक पोखरासमेत नजाने बैठकको निर्णयमा उल्लेख छ । अध्यक्ष गुरुङका अनुसार समितिको निर्णयलाई घान्द्रुकका सबै टोलमा पुगेर जानकारी गराउने अभियान थालिएको छ । बिहीबार मात्रै दुई टोलमा यो अभियान सकिएको छ ।

‘घान्द्रुकमा अहिलेसम्म कोरोना छैन,’ उनले भने, ‘बाहिरी व्यक्ति (आफन्त र इष्टमित्रसमेत) लाई प्रवेश दिइयो भने फैलने डर भयो । त्यसैले रोक लगाउनका लागि यस्तो निर्णय गरेका हौं ।’

स्थानीय व्यवसायी कृष्ण गुरुङका अनुसार दसैंका बेला आफन्तलाई पनि नबोलाउने निर्णय भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?