नेपालमा कोरोना अपडेट : देशभर सक्रिय संक्रमित ३७ हजार बढी, हेर्नुहोस् पछिल्लो २४ घण्टाको विवरण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ९२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ९२ जनामा संक्रमण पुष्टि भएको बताए ।

यससँगै हालसम्म कुल सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ८२ पुगेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा रहेका संक्रमितहरुको संख्या १२ हजार ३ सय ३६ रहेको छ भने होम आइसोलेसनमा २५ हजार ४६ जना रहेका छन् । हालसम्म कुल संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ४ सय २ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ हजार ७८४ जना, भक्तपुरमा २ सय ४४ जना र ललितपुरमा ३ सय ७४ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ३ हजार ५ सय २२ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म संक्रमण निको हुनेहरुको संख्या ८८ हजार ४० पुगेको छ । आज देशभर ७७ जना संक्रमितहरुको भेन्टिलेटरमा उपचार भइराखेको पनि प्रवक्ता गौतमले बताए ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या २१ रहेको छ । यससँगै हालसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ सय १५ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ३१ पीसीआर परीक्षण भएको छ । यससँगै हालसम्म कुल १२ लाख ५४ हजार १ सय ६७ पीसीआर परीक्षण भएको छ ।

कोभिड १९ को बिरामीको उपचारमा प्रत्यक्ष रुपमा खटिएका स्वास्थ्यकर्मीलाई कोभिड १९ पोजेटिभ देखियो वा लक्षणहरु देखियो भने मात्रै क्वारेन्टाइन अथवा आइसोलेसनमा राख्ने व्यवस्था गरिएको प्रवक्ता गौतमले बताए ।

यसअघि अधिकांश अस्पतालमा एक साता काम गरेपछि अर्को साता आइसोलेसन वा क्वारेन्टाइनमा राख्ने गरिएको थियो ।

कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?

प्रदेश १ मा ७६२७ जना

प्रदेश २ मा १५४०१जना

वाग्मती प्रदेश ३७२१३ जना

गण्डकी प्रदेशमा ४५७१ जना

प्रदेश ५ मा ११५७५ जना

कर्णाली प्रदेशमा ३७६६ जना

सुदूरपश्चिम प्रदेशमा ७८८७ जना

 

५ सय भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका ११ जिल्ला

नेपालका विभिन्न ११ जिल्लामा ५ सय भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका छन् ।

  • काठमाडौं
  • ललितपुर
  • भक्तपुर
  • मोरङ
  • रुपन्देही
  • सुनसरी
  • चितवन
  • सुर्खेत
  • मकवानपुर
  • बाँके
  • दाङ

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?