काठमाडौं, ललितपुर र भक्तपुरसहित यी ११ जिल्लामा छन् ५०० भन्दा बढी उपचाररत कोरोना संक्रमित

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ४ हजार ३९२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १६ हजार ५३१ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा १ हजार ७८४, ललितपुरमा ३७४ र भक्तपुरमा २४४ जनासहित काठमाडौं उपत्यकामा मात्रै २ हजार ४०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख २६ हजार १३७ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार नेपालका ११ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।

५ सय भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका ११ जिल्ला

  • काठमाडौं
  • ललितपुर
  • भक्तपुर
  • मोरङ
  • रुपन्देही
  • सुनसरी
  • चितवन
  • सुर्खेत
  • मकवानपुर
  • बाँके
  • दाङ

नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ५२२ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ८८ हजार ४० पुगेको छ । यो कुल संक्रमितको ६९.८ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या ३७ हजार ३८२ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा २५ हजार ४६ जना र संस्थागत आईसोलेसनमा १२ हजार ३३६ जना छन् । तिमध्ये ३१५ जना संक्रमितको आईसियु र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार ८०८ जना रहेका छन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ७१५जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयले स्थिती अझ भयावह बन्दै गएको भन्दै थप सचेतना अपनाउन अनुरोध गरेको छ ।

हिजो (शुक्रवार) नेपालमा ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको थियो । ३ हजार ५६४ जना संक्रमणमुक्त भएका थिए भने १९ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?