काबुल । अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजादले अमेरिका–तालिबान बीचको सम्झौताको पूर्ण कार्यान्वयनमा प्रतिबद्धता व्यक्ति गर्न तालिबान समूहलाई आग्रह गरेका छन् ।
अफगानिस्तानमा पछिल्लो समय हिंसात्मक घटना बढेका प्रति चिन्ता व्यक्त गर्दै विशेषदूत खलिलजादले शान्तिप्रतिको अफगानी जनताको भावनालाई सम्मान गर्न आग्रह गरेका छन् ।
उनले ट्वीट मार्फत भनेका छन्, “तालिबान समूहसँग म र जनरल मिलरले धेरै चरणमा प्रत्यक्ष भेटवार्ता र छलफल गरेका छौं । यी बैठकमा अमेरिका–तालिबानबीच भएका सम्झौता र व्यक्त सबै प्रतिवद्धताहरुको कार्यान्वयनमा सहमति भएको छ ।”
उनले अहिले ठूलो संख्यामा अफगानी जनताहरु मारिएको बताउँदै सरकार र तालिबान दुबै पक्षबाट हिंसामा कमी ल्याउन पहल हुने विश्वास व्यक्त गरेका छन् ।
हालै मात्र तालिबान समूहले गरेका आक्रमणप्रति संकेत गर्दै विशेषदूत खलिलजादले हालैका साताहरुमा आक्रमणका घटनामा वृद्धि भएका र त्यसले शान्ति प्रक्रियालाई नै धरापमा पार्न खोजेको बताएका छन् ।
उनले भनेका छन्, “हामी हाम्रा तर्फबाट भूमिका निर्वाह गर्नेछौं र त्यसको कार्यान्वयनको पूर्ण सक्रियताका साथ अनुगमन गर्नेछौँ । यस कार्यमा सहयोग गर्ने हाम्रा अन्तर्राष्ट्रिय साझेदारहरुलाई निरन्तरको सहयोग र समर्थनका लागि आभार व्यक्त गर्दछौं ।”
तालिबानका प्रवक्ता मोहम्मद नसिमले ट्वीट गर्दै समूहका प्रमुख वार्ताकार मौलबी अब्दुल हकिमले अमेरिकी विशेषदूत खलिलजाद र जनरल मिलरसँग भेटघाट गर्नु भएको बताएका छन् । कतारको दोहामा भएको भेटवार्तामा उनीहरुबीच शान्ति सम्झौताको कार्यान्वयनका विषयमा विस्तृत छलफल भएको प्रवक्ता नसिमले जानकारी दिएका छन् ।
नेटो सैन्य प्रमुख जेन्स स्टोल्टेन्बर्गले पनि अमेरिकी विशेषदूतसँग भेटवार्ता गरी अफगानिस्तानको पछिल्लो स्थितिका बारेमा छलफल गरिएको स्टोल्टेन्बर्गले ट्वीट मार्फत जानकारी गराएका छन्।
उनले दोहा वार्ताले शान्ति स्थापनार्थ एउटा उत्कृष्ट मौका सिर्जना गर्ने विश्वास व्यक्त गर्दै तालिबान समूहले आफ्ना प्रतिबद्धता पूरा गर्नुपर्ने तथा हिंसात्मक घटनामा कमी ल्याउनु पर्नेमा जोड दिएका छन् ।
स्थानीय संचार माध्यमहरुका अनुसार हेल्मान्ड प्रान्तको लस्करगाह र त्यस वरपर विगत छ दिनदेखि तालिबान समूह र सरकारी फौजबीच भिडन्त जारी छ । बुधवार मात्र हेल्मान्डको नवा जिल्लामा प्राविधिक गडबडीका कारण सेनाको एमआई–१७ हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा कम्तीमा ९ जनाको ज्यान गएको थियो ।
तालिबान समूहले प्रान्तीय राजधानी र आसपासका क्षेत्रमा संगठित आक्रमण गरेको थियो । अधिकारीहरुका अनुसार सोमवार राति लडाकू विमानको सहयोग समेत लिएर अफगान कमान्डोले लस्करगाहमा तालिबान लडाकू विरुद्ध कारबाही गरेको अफगान रक्षा मन्त्रालयले जनाएको छ ।
हालैका दिनमा जारी भिडन्तका कारण हजारौं व्यक्ति अन्यत्र पलायन भएका छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया