मोरङ । विराटनगर महानगरपालिकाले नगरका सडकमा बेसहाराभै कठिन जीवनयापन गरिरहेका १२ सडक मानवलाई बिहीबार उद्दार गरेको छ । विराटनगर महानगरका प्रमुख भीम पराजुलीले विराटनगर–९ स्थित पुरानो गुद्री आसपास क्षेत्रमा बस्दै आएका बेसहारालाई उद्दार गरे । विराटनर सडकलाई बेसहारा मानवमुक्त बनाउने अभियानअनुरुप सडकपेटीमा बस्दै आएकालाई उद्दार गरिएको हो । यसरी उद्दार गरिएकालाई विराटनगर–१० मा रहेको मानव सेवाआश्रममा लगिएको छ । यसभन्दा अगाडि विराटनगर महानगरले २० जनाको उद्दार गरिसकेको छ ।
लागुऔषध प्रयोगकर्ता र घरबारविहीन भएर बेसहारा जीवन बिताइरहेकाको पहिचानसहित बस्ने स्थानसमेत छनोट गरिएको छ । लागुऔषध दुर्व्यसनीमा फसेर सडकमै आएकालाई सुधारगृहमा लगिएको छ । उद्दार गरिएकामध्ये दुई जनालाई विराटनगर–३ मा रहेको लिवर्टी नेपालमा लगिएको बताइएको छ ।
नगरप्रमुख पराजुलीले यो अभियानलाई थप व्यवस्थित गर्दै निरन्तरता दिने बताउँदै बेसहारा मानिसको उचित व्यवस्थापनका लागि मानवसेवा आश्रमसँग सहकार्य गरी प्रत्येक वर्ष २५ लाख दिने गरेको जानकारी दिए ।
ज्येष्ठ नागरिक ग्राम निर्माणबारे छलफल
प्रदेश नं १ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको ज्येष्ठ नागरिक ग्राम निर्माणबारे छलफल शुरु गरेको छ । ग्रामथानका जनप्रतिनिधि, पार्टी प्रतिनिधि र सरोकारवालासँग सामाजिक विकास मन्त्रालयले भवन निर्माणबारे छलफल गरेको हो । सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमसँगको सहकार्यमा ज्येष्ठ नागरिक र मानव सेवाग्राम निर्माण गर्ने भएको छ । ज्येष्ठ नागरिक ग्राममा रहने चिल्ड्रेन पार्कको निर्माण ग्रामथान गाउँपालिकाले गर्नुपर्ने छ । १० बिघा १४ कठ्ठामा निर्माण गरिने ज्येष्ठ नागरिक ग्रामको डिपिआरलगायत काम सम्पन्न भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेले भवन निर्माणको शिलान्यास चाँडै गर्ने गरी मन्त्रालयले काम अघि बढाएको जानकारी दिँदै परियोजना निर्माण शुरु भएपछि अवरोध भए निर्माणले गति लिन सक्दैन भने । उनले ज्येष्ठ नागरिक ग्राममा निर्माण गरिने चिल्ड्रेन पार्कलाई नलेज पार्कका रूपमा विकास गरिने बताए। प्रतिनिधिसभा सदस्य अमनलाल मोदी, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वास, गाउँपालिका अध्यक्ष शिवनारायण माझीलगायतले परियोजना कार्यन्वयनमा जोड दिए। रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया