घटनाको छानबिनका लागि संसदीय समिति गठनको माग

धनुषा । प्रदेश नं. २ को आजको प्रदेशसभा बैठकमा नेपाली कांग्रेसका सांसदले सर्लाहीको रामनगर गाउँपालिका–७ सिसौटका महेन्द्र रामको कुटपिटपछि उपचारका क्रममा मृत्यु भएको घटनाको छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेका छन् ।

बैठकको शुरुमा विशेष समय लिएर कांग्रेसका सचेतक उपेन्द्र कुशवाहाले कुटपिटबाट दलित रामको मृत्यु भएको र जिल्ला प्रहरी कार्यालय सर्लाहीले जाहेरी दर्ता नगरेको भन्दै न्यायिक समिति गठन गर्न माग गरे ।

सचेतक कुशवाहाले मृतकको परिवार तथा आफन्तले प्रहरीमा जाहेरी दिन जाँदा जिल्ला प्रहरी प्रमुखले जाहेरी लिन नमानेको जनाउँदै पीडितलाई न्यायका दिनुपर्ने बताए । यही असोज २१ गते दुई पक्षबीच झडप हुँदा ६५ वर्षीय महेन्द्र राम घाइने भई वीरगञ्जस्थित नेपाल इन्डो अस्पतालमा उपचारका क्रममा असोज २२ गते मृत्यु भएको थियो ।

प्रहरीले दोषीलाई जोगाउन खोजेको र निष्पक्ष छानबिन नभएको भन्दै काँग्रेस कार्यकर्ताले बुधवार मलंगवामा प्रदर्शन गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गरेका थिए भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला समितिले आपसी विवादका कारण भएको घटनालाई राजनीतिकरण नगर्न आह्वान गरेको छ ।

स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकमा असहमति

प्रदेश २ को प्रादेशिक स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धमा बनेको विधेयकमा नेपाली काँग्रेसका सांसदले असहमति जनाएका छन् ।

ती सांसदले विधेयकमा आफ्ना माग पनि समेटिनुपर्ने आग्रह गरेका हुन् । सभाको महिला बालबालिका तथा सामाजिक न्याय समितिमा विचाराधीन सो विधेयकमा कांग्रेसका सांसदहरु प्रमिला दास, मंजुकुमारी यादव र सरस्वती चौधरीले ‘नोट अफ डिसेन्ट’ जनाउनुभएको छ ।

सो प्रतिष्ठानलाई लोकतन्त्रका लागि आफ्ना जीवन समर्पण गरेका डा. लक्ष्मीनारायण झाको नाममा नामकरण गर्ने प्रस्ताव समावेश पनि ती सांसदको आग्रह छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?