प्रधानमन्त्री देउवाद्वारा खाडी क्षेत्रका नेपाली राजदूतलाई निर्देशन

–विशेष संवाददाता भीष्मराज ओझामस्कट (ओमन), १० असोज (रासस)प्रधानमन्त्री शेरबहादुर देउवाले खाडी क्षेत्र र अफ्रिकाका नेपाली राजदूतलाई नेपाल र नेपाली आप्रवासी कामदारको हित र उनीहरूको संरक्षणका लागि काम गर्न निर्देशन दिएका छन ।ओमनको मस्कटमा आज आयोजित ‘केन्द्र एसिया, पश्चिम एसिया र अफ्रिका क्षेत्रका नेपाली राजदूतहरुको क्षेत्रीय सम्मेलन’ मा प्रधानमन्त्री देउवाले नेपाल र नेपाली आप्रवासी कामदारको हित र उनीहरूको संरक्षणका लागि काम गर्न निर्देशन दिएका हुन ।कार्यक्रममा प्रधानमन्त्री देउवाले सबै राजदूतको विफ्रिङ निकै चासो दिएर सुनेका थिए । उहाँले त्यस क्षेत्रमा कार्यरत नेपाली कामदारले भोग्नुपरेको समस्या समाधानका हरसम्भव प्रयास गर्न निर्देशन दिँदै यसमा सरकार गम्भीर रहेको धारणा व्यक्त गरे ।कार्यक्रममा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले कूटनीतिकस्तरबाट नेपालको इज्जत, प्रतिष्ठा माथि उठाउन र आर्थिक कूटनीतिमा जोड दिन राजदूतहरुलाई आग्रह गरे ।श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले श्रमको पुनःस्वीकृति र प्रमाणीकरणलगायत कार्यहरु दूतावासबाटै गर्न राजदूतहरुलाई निर्देशन दिए ।बैठकमा श्रम सम्झौता गर्न बाँकी मुलुकसँग सम्झौता गर्न, नेपाललाई पर्यटन र विदेशी लगानी बढाउने जानकारी गराउन राजदूतहरुले भूमिका खेल्नुपर्ने विषयमा छलफल भएको थियो । साथै गृह, परराष्ट्र र श्रम मन्त्रालयबीच समन्वयको आवश्यकता रहेकामा सहभागीहरुले जोड दिएका थिए ।सम्मेलनमा सहभागी राजदूतहरुले दूतावासलाई सुविधा सम्पन्न बनाउनुका साथै स्थानीय भाषा र कानून जान्ने स्थानीय कर्मचारी राख्नुपर्नेमा जोड दिनुएका थिए ।अधिकांश राजदूतहरुले कामदारमा सचेतना र दक्षताको कमी हुनुका साथै अवैधानिक रुपमा अन्य मुलुक जाने भएकाले बढी समस्या देखिने गरेको अनुभव सुनाएका थिए । दूतावासमा उद्धारको व्यवस्था प्रभावकारी गर्न नसकिएको, बजेट र जनशक्तिको कमीलगायतका कारण सोचेजस्तो काम गर्न चुनौती थपिएको राजदूतहरुको गुनासो थियो ।खाडी क्षेत्रका विभिन्न मुलुकमा हाल वैधानिक रुपमा श्रम स्वीकृति लिएर काम गर्ने करिब १५ लाख नेपाली कामदार छन् भने अवैधानिक रुपमा पनि हजारौँको संख्यामा नेपाली कामदार कार्यरत रहेको बुझिएको छ ।सम्मेलनमा ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल, साउदी अरबका लागि नेपाली राजदूत डा महेन्द्र सिंह, साउदी अरबको जेद्धाका लागि नेपाली कार्यवाहक महावाणिज्यदूत रेवती पौडेल, कतारका लागि नेपाली राजदूत रमेश कोइराला, इजरायलका लागि नेपाली राजदूत निरन्जन थापा, दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृतबहादुर राई, कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमाल, बहराईनका लागि नेपाली राजदूत पदम सुन्दास, ईजिप्टका लागि नेपाली राजदूत झबिन्द्रप्रसाद अर्याल, संयुक्त अरब ईमिरेट्सका लागि नेपाली कार्यवाहक राजदूत नेत्रबहादुर टण्डनले सो क्षेत्रको वस्तुस्थितिका साथै भोग्नुपरेका चुनौतीका बारेमा प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?