कार्यान्वयनमा शुक्लाफाँटाका पाँच नगर गौरवका योजना

काठमाडौं । शुक्लाफाँटा नगरपालिकाले पाँच वटा नगर गौरवका योजना चालू आवमा कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । नगरसभाबाट छनोट गरिएका नगर गौरवका योजना कार्यान्वयनका लागि भौतिक पूर्वाधार निर्माणका कार्य शुरु गर्न लागेको हो ।

नगरपालिकाका सूचना अधिकारी विष्णुप्रसाद खरेलका अनुसार नगर गौरवका योजनामा नगर अस्पताल, कभर्डहल, चिस्यान केन्द्र, बसपार्क र नगर उद्यानलगायत छन् । नगर अस्पतालको पूर्वाधार निर्माणका लागि २५ लाख, कभर्डहलका लागि २५ लाख, चिस्यान केन्द्र निर्माणका लागि २५ लाख, बसपार्क र नगर उद्यानका पूर्वाधार निर्माणका लागि पाँच-पाँच लाख बजेट विनियोजन गरिएको छ ।

“विनियोजन गरिएको बजेटबाट ठेक्का प्रक्रियामार्फत पूर्वाधार निर्माणका कार्य शुरु हुन्छन्”, सूचना अधिकारी खरेलले भने, “चालू आवदेखि नगर गौरवका योजनाका भौतिक पूर्वाधार निर्माणको कार्य शुरु गरी दुई वर्षभित्र निर्माणकार्य पूरा गर्ने लक्ष्य लिइएको छ । आगामी आवमा पूर्वाधार विकासका लागि अपुग रकमको व्यवस्था गरी योजनालाई पूर्णता दिइने छ ।”

त्यसैगरी नगरपालिकाले नगरभित्रका छाडा पशु व्यवस्थापन गर्न ४० लाख, वडा नं २ र ९ को वडा कार्यालय निमार्णका लागि एक करोड ८० लाख बजेट परिचालन गरेको छ । शिक्षा क्षेत्रको विकासका लागि एक करोड २० लाख, स्वास्थ्यतर्फ रु एक करोड सात लाख छुट्याइएको छ । वैकल्पिक ऊर्जाका लागि रु ५० लाख र पशुपालन र उपचारका लागि १० लाख छुट्याइएको छ ।

यसैगरी महिला तथा बालबालिकाका लागि १५ लाख रकम विनियोजन भएको छ भने न्यायिक समितिमा रु पाँच लाख बजेट विनियोजन गरिएको छ । भूमि तथा नापीका लागि रु तीन लाख रकम विनियोजित गरिएको छ ।

गड्डाचौकीमा सहायताकक्ष स्थापना : 

नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै पश्चिमी सीमानाका गड्डाचौकीमा आज सहायताकक्ष स्थापना गरिएको छ । सीमानाका हुँदै आउने यात्रुलाई सहायता प्रदान गर्नका लागि सहायताकक्ष स्थापना गरिएको हो । सहायताकक्षको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले गरे ।

कक्ष उद्घाटन गर्दै उनले सीमानाका भएर आवतजावत गर्ने व्यक्तिको सहजीकरण गरिनुका साथै आपतविपतमा परेका व्यक्तिको उद्धारमा सहायताकक्षबाट सहजता हुने बताए । “बडादशैँ, तिहार र छठपर्वमा सीमा क्षेत्र भएर ओहरदोहर गर्ने यात्रुको निकै भीडभाड हुने भएकाले लुटपाटलगायतका घटनासँंगै आपराधिक क्रियाकलाप बढ्न सक्छन्”, उनले भने, “त्यस्ता कार्यलाई निरुत्साहित गर्नका लागि सशस्त्र प्रहरी बल नेपाल, भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग आवश्यक समन्वय गरी दशगजा क्षेत्रमा संयुक्त गस्तीलाई प्रभावकारीरूपमा परिचालन गरिने व्यवस्था गरिएको छ ।”

चाडपर्वका बेला सीमा क्षेत्रमा यात्रुको चाप बढेसँगै आपराधिक मनोवृत्तिका व्यक्ति तथा आपराधिक समूहबाट हुनसक्ने चोरी, डकैती, लुटपाट, हत्या, हिंसा बलात्कारजस्ता घटनालाई न्यूनीकरण गरी शान्ति शुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले नागरिक सहायताकक्ष स्थापना गरी कार्यान्वयनमा ल्याइएको सशस्त्र प्रहरी बल नेपाल नं ३५ हेडक्र्वाटर शैलेश्वरी झलारी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए ।

“भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँगसमेत समन्वय गरी सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप र अवाञ्छित कार्य रोक्नका लागि काम अगाडि बढाएका छौँ”, उनले भने, “सीमा क्षेत्र भएर आउने नागरिकले सहायताकक्षमा समस्यामा परेको कुराको जानकारी गराए तत्कालै समस्या समाधानका लागि तत्पर हुने व्यवस्था गरिएको छ ।”

नागरिक सहायताकक्ष उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐर र भारतीय सीमा शुरक्षा बल (एसएबी) का ५७ बटालियनका सीतारगञ्जका प्रमुखको समेत सहभागिता थियो । यसैगरी मङ्गलबार नेपाल–भारत सीमा क्षेत्र डोकेबजार (गौरीफण्टा) मा संयुक्त सहायताकक्ष स्थापना गरिएको छ । पुर्नवास नगरपालिका–११ डोकेबजारमा स्थापना गरिएको नेपाल–भारत संयुक्त सहायताकक्षको नगरप्रमुख जीवनराज थापाले उद्घाटन गरेका थिए ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?