बाबुरामको अभिव्यक्तिमा नेकपाले आपत्ती जनाउँदै भन्यो- ‘प्रमाण भए सम्बन्धित निकायमा पेश गर्नूस्’

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जनता समाजबादी पार्टीका नेता डा बाबुराम भट्टराईले पार्टी अध्यक्षहरु लक्षित आरोप पुष्टि गर्न चुनौती दिएको छ ।

डा भट्टराईले बुढीगण्डकी परियोजना निर्माणका बेला प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ९ अर्ब घोटला गरेको र त्यसको तथ्य आफूसँग भएको बताएका थिए ।

बुधवार एक विज्ञप्ति जारी गर्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्षहरु माथि लगाएको आरोप झुठो, कपोकल्पित, आधारहिन, गलत र दुरासयपूर्ण रहेको बताएका छन् । साथै त्यससँग सम्बन्धित कुनै प्रमाण भए सार्वजनिक रुपमा र राज्यको आधिकारीक निकायमा पेश गर्नका लागि चुनौति दिएको हो । “हामी त्यससँग सम्बन्धित तथाकथित कुनै प्रमाण भए सार्वजनिक रुपमा र राज्यको सम्बन्धित आधिकारीक निकायमा पेश गर्न चुनौती दिन्छौ ।” जारी विज्ञप्तिमा भनिएको छ ।

सम्माननीय पदमा बसेर काम गरिसकेका डा भट्टराईले त्यस किसिमको आपत्तीजनक र गैर जिम्मेवारपूर्ण अभिव्यक्तिका निम्ति सार्वजनिक रुपमा क्षमा याचना समेत गर्नुपर्ने प्रवक्ता श्रेष्ठले बताएका छन् ।

डा भट्राईले केहीदिन अघि गोरखाको एक सार्वजनिक कार्यक्रममा बोल्दै बहालवाला प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्रीहरु प्रचण्ड र कांग्रेस पार्टी सभापनि शेरबहादुर देउवाले बुढीगण्डकी परियोजना निर्माणमा ९ अर्ब घोटला गरेको बताएका थिए । त्यसलगत्तै कांग्रेसले पनि आपत्ती जनाउँदै डा भट्टराईलाई तथ्य पुष्टि गर्नका लागि चुनौती दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?