काठमाडौं । नेपालको एउटा जिल्लमा मात्र कोरोना संक्रमित शुन्य रहेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले नेपालको मनाङ जिल्लामा मात्र कोरोना संक्रमित शुन्य रहेको बताएका छन् ।
बितेको २४ घण्टामा नेपालमा थप ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १५ हजार ५७७ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा १ हजार ७४६, ललितपुरमा २१६ र भक्तपुरमा १६७ जनासहित काठमाडौं उपत्यकामा मात्रै २ हजार १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख १५ हजार ३५८ पुगेको छ ।
नेपालमा बितेको २४ घण्टामा थप १ हजार ५०३ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ७८ हजार ७८० पुगेको छ । यो कुल संक्रमितको ६८.३ प्रतिशत हो ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या ३५ हजार ९१५ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा २० हजार ८६७ जना र संस्थागत आईसोलेसनमा १५ हजार ४८ जना छन् । तिमध्ये ३०७ जना संक्रमितको आईसियु र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार ७९५ जना रहेका छन् ।
यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सुनसरी, ललितपुर, भक्तपुर, चितवन र सुर्खेत, मकवानपुर, बाँके र दाङ गरि ११ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।
कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ६६३ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले स्थिती अझ भयावह बन्दै गएको भन्दै थप सचेतना अपनाउन अनुरोध गरेको छ ।
हिजो ( सोमवार) नेपालमा ४ हजार ४७ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार ४७३ जना संक्रमणमुक्त भएका थिए भने ९ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया