किरण चेम्जोङको प्रश्न : सुटिङको लागि खुला हुने रंगशाला फुटबलका लागि किन बन्द ?

काठमाडौं । प्रिमियर लिग, ला लिगा, नेसन्स लिग फुटबल र इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटले यति बेला विश्वभर माहोल बनाएको छ । महामारीबीच उच्च सतर्कता अपनाउँदै फुटबल, क्रिकेट सञ्चालन सम्भव छ भन्ने सन्देश पनि यी खेलहरुले दिई रहेका छन् । तर कोरोनाका कारण नेपालमा अहिलेसम्म पनि खेलकुद गतिविधि हुन सकेका छैनन् ।

यसैबीच, नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङले खेलकुदका गतिविधि शुरु गर्न माग गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा कोरोना भाईरसको मापदण्ड बनाएर फुटबल लगायत खेलकुदका गतिविधि शुरु गर्न माग गरेका छन् ।

कप्तान किरणले खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिसद (राखेप) र सरकारलाई खुला पत्र लेखेका हुन् ।

उनले सुटिङको लागि खुला हुने रंगशाला फुटबलका लागि किन बन्द भनेर प्रश्न समेत गरेका छन् ।

उनले भनेका छन् “सबै देशमा फूटबल शुरु भैसक्दा पनि हाम्रो देसमा खेल मैदानको लागि दुस्खद घडीमा बनाको रंगशालामा फिलिमको सुटिङ मिउजिक भिडियोको लागि प्रवेस खुला हुने। फूटबलका लागि खेल्न चै किन न हुने फूटबलले देशका लागि तेति ठूलो असर पार्छ र ?”

उनले भनेका छन् खेलाडी सधै मर्का मै पार्ने र मर्ने हो भने सम्बन्धित निकायमा बसेकाहरुको के अर्थ रह्यो र ?

“सरकार फुटबल राजनिती जस्तो होइन । चिल्लो गाडीमा बसेर गफ लगाए जस्तो सजिलो हुन्न । दुई खुट्टा चलाएर घर परिवार हेर्नु पर्ने हुन्छ । ७ महिनाबाट बेरोजगार भएका खेलाडीको क्षतिपूर्ति कसले दिन्छ, किरणले भनेका छन्, जुन खेलाडी खेलेर नै जीविका चलाउथे उनीहरु आजभोली खेलमैदान छोडेर विदेश जादै छन् । यो लाज हुने कुरा होइन ?”

कोरोना महामारीको अवस्थालाई उच्च सतर्कता अपाउनाउँदै खेलकुद गतिविधि सुचारु गर्नु पर्ने विज्ञले सुझाव दिइरहेका छन् । सरकारले महामारीलाई कारण देखाएर खेलकुद गतिविधि रोक्नु खेलकुदका लागि अन्याय हुन्छ । त्यसैले आवश्यक मापदण्ड तोकेर कडाईका साथ लागू गरी खेलकुद गतिविधि चलायमान बनाउनु आवश्यक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?