एपेक्सको बदमासीले एनसीसीलाई तनाव

काठमाडौं, ३ चैत- राष्ट्र बैंकले दिएको समयमा आठ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउन नसकेको नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी) मा थप डेढ अर्ब रुपैयाँ घोटाला भएको छ ।पुँजी पुर्‍याउनका लागि एनसीसीसँग मर्ज भएको एपेक्स डेभलपमेन्ट बैंकले प्रवाह गरेको कर्जा घोटाला भएपछि एनसीसी बैंक थप समस्यामा परेको हो । मर्जर सम्झौता भइसकेपछि तत्कालीन एपेक्सका अध्यक्षसहित पदाधिकारीले नक्कली ऋणीलाई कमसल धितोमा ऋण दिएर अनियमितता गरेका थिए । राष्ट्र बैंकले अनुगमन गर्दा बैंकमा केही कमी–कमजोेरी भेटिएको प्रवक्ता नारायणप्रसाद पौडेलले बताए ।राष्ट्र बैंककै सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एनसीसीको पुँजी बढाउने विषयमा छलफल गर्न बोलाइएको बोर्ड बैठकबाटै शुक्रबार तत्कालीन एपेक्सका अध्यक्षसहित १३ जनालाई पक्राउ गरेपछि घोटालाको रहस्य खुलेको हो ।पुँजी बढाउन बैंकले राइट सेयर दिने निर्णय गरिसकेको छ । मर्जपछि ऋणी सम्पर्कमा नआएका कारण यसरी प्रवाह भएको कर्जाको ब्याजसमेत आउन सकेको छैन । राष्ट्र बैंकले कर्जा जोखिममा परेको भन्दै यसअघि नै बैंकलाई ‘लोन लस प्रोभिजन’ मा उक्त पैसा राख्न लगाएको थियो भने फाइल अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोमा पठाइएको थियो । जोखिममा परेको एनसीसी बैंकको व्यवस्थापन राष्ट्र बैंकले हस्तक्षेप गरेर सुधारेको थियो ।सीआईबीका डीएसपी श्याम ओलियाका अनुसार एपेक्सले मर्जरमा जाने प्रक्रियासँगै यस्तो अनियमितता गरेको पाइएको हो । उनले भने, ‘सीआईबीले बैंकिङ कसुरमा अनुसन्धान एवं कारबाही गरेको यो अहिलेसम्मकै ठूलो कसुर हो ।’ सीआईबीका अनुसार एपेक्सकोे एक सय २८ वटा धितो फाइल अनुसन्धान गर्दा एक अर्ब ५० करोड ९६ लाख ३३ हजार नौ सय ८४ रुपैयाँ हानि–नोक्सानी पुर्‍याएको देखिएको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?