भारतमा दैनिक संक्रमितहरुको संख्यामा कमी

नयाँ दिल्ली । भारतमा दैनिक कोरोना संक्रमितहरुको संख्यामा कमी आएको छ ।

सरकारी अधिकारीहरुले पछिल्लो समय दैनिक ६० हजारभन्दा कम मात्रै संक्रमित हुने गरेको देखिएको बताएका छन् ।

केही समय अगाडिसम्म दैनिक ९० हजारभन्दा बढी संक्रमित हुने गरेकोमा अहिले घटेर ६० हजारभन्दा तल पुगेको हो ।

भारतमा एकैदिनमा संक्रमित भएकाहरुको संख्यामध्ये सबैभन्दा धेरै गत सेप्टेम्बर १७ का दिन ९७ हजार ८९४ पुगेको थियो ।

अहिले भारतमा कुल संक्रमितको संख्या ७१ लाख ७५ हजार ८८० भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मंगलवार जनाएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण ५५ हजार ३४२ जना संक्रमित भएका छन् भने ७०६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको कुल संख्या एक लाख नौ हजार ८५६ पुगेको छ ।

भारतमा अहिले पनि संक्रमित अवस्थामा नै रहेकाहरुको कुल संख्या नौ लाखभन्दा कम भएको निरन्तर पाँच दिन भएको अधिकारीहरुले जनाएका छन् ।

उनीहरुका अनुसार भारतमा अहिले आठ लाख ३८ हजार ७३९ जना सङ्क्रमित अवस्थामा नै रहेका छन् ।

भारतमा कुल संक्रमितमध्ये मृत्यु भएकाहरुको दर १.५३ प्रतिशत मात्रै रहेको मन्त्रालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?