भत्ता बाँड्दै झापाको सहारा

झापा । झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यलाई सामाजिक सुरक्षा भत्ता दिने गरेको छ । सहाराले एकल महिला, एकल पुरुष, शारीरिक अशक्त र ६५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई वार्षिक भत्ता दिँदै आएको छ ।

सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत यसवर्ष झापा र मोरङ जिल्लामा ५३ लाख ७६ हजार रुपैयाँ भत्ता वितरण गरिएको संस्थाले जनाएको छ ।

सहकारीको विर्तामोड अनुगमन कार्यालयका अधिकृत घनश्याम रायाका अनुसार वार्षिक रुपमा एकल महिलाले आठ हजार, एकल पुरुषले छ हजार, शारीरिक अशक्तले १० हजार, ६५ वर्ष नाघेका ज्येष्ठ नागरिकले छ हजार, ७० वर्ष नाघेकाले आठ हजार र ८१ वर्ष नाघेका व्यक्तिले १० हजारका दरले भत्ता पाउँछन् ।

यसवर्ष ६९५ जनालाई सामाजिक सुरक्षा भत्ता घरमै लगेर वितरण गरिएको अनुगमन अधिकृत रायाले बताए । सबैभन्दा बढी ४० लाख ८० हजार रकम ५१० एकल महिलालाई वितरण गरिएको छ । सहारा नेपालका एक लाखभन्दा बढी सदस्य रहेका छन् ।

संस्थाले सदस्यको स्वास्थ्य सुरक्षाका लागि ‘जीवन बरदान’ नामक कार्यक्रम लागू गरेको छ । यसअन्तर्गत सदस्य बनेकाले क्यान्सर, मिर्गौला, मुटुलगायतका जुनसुकै घातक रोग लाग्दासमेत उपचार खर्च पाउँछन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?