काठमाडौं, ललितपुर र भक्तपुरसहित यी १० जिल्लामा छन् ५०० भन्दा बढी उपचाररत कोरोना संक्रमित

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ४ हजार ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १४ हजार ५३० नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा १ हजार ८८८, ललितपुरमा २७७ र भक्तपुरमा ११८ जनासहित काठमाडौं उपत्यकामा मात्रै २ हजार २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ११ हजार ८०२ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार नेपालका १० जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।

५ सय भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका १० जिल्ला

  • काठमाडौं
  • ललितपुर
  • भक्तपुर
  • मोरङ
  • रुपन्देही
  • सुनसरी
  • चितवन
  • सुर्खेत
  • मकवानपुर
  • बाँके

नेपालमा बितेको २४ घण्टामा थप १ हजार ४७३ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ७७ हजार २७७ पुगेको छ । यो कुल संक्रमितको ६९.१२ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या ३३ हजार ८८० रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा १९ हजार ९५७ जना र संस्थागत आईसोलेसनमा १३ हजार ९२३ जना छन् । तिमध्ये २७९ जना संक्रमितको आईसियु र ६७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार ८३१ जना रहेका छन् । डाक्टर गौतमका अनुसार मनाङ जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ६४५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयले स्थिती अझ भयावह बन्दै गएको भन्दै थप सचेतना अपनाउन अनुरोध गरेको छ ।

हिजो (आईतवार) नेपालमा २ हजार ७१ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार ५५२ जना संक्रमणमुक्त भएका थिए भने २२ जनाको मृत्यु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?