काठमाडौं उपत्यकामा एकैपटक थपिए २२ सय बढी कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकामा २ हजार २ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौंमा १ हजार ८ सय ८८ जना, भक्तपुरमा १ सय १८ र ललितपुरमा २ सय ७७ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा उपत्यकासहित देशभर कोरोना संक्रमणको जोखिम बढिरहेको छ ।

यसैबीच बितेको २४ घण्टामा नेपालमा थप ४ हजार ४७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १४ हजार ५३० नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ११ हजार ८०२ पुगेको छ ।

नेपालमा बितेको २४ घण्टामा थप १ हजार ४७३ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ७७ हजार २७७ पुगेको छ । यो कुल संक्रमितको ६९.१२ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या ३३ हजार ८८० रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा १९ हजार ९५७ जना र संस्थागत आईसोलेसनमा १३ हजार ९२३ जना छन् । तिमध्ये २७९ जना संक्रमितको आईसियु र ६७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार ८३१ जना रहेका छन् ।

यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सुनसरी, ललितपुर, भक्तपुर, चितवन र सुर्खेत, मकवानपुर र बाँके गरि १० वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

डाक्टर गौतमका अनुसार मनाङ जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ६४५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयले स्थिती अझ भयावह बन्दै गएको भन्दै थप सचेतना अपनाउन अनुरोध गरेको छ ।

हिजो (आईतवार) नेपालमा २ हजार ७१ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार ५५२ जना संक्रमणमुक्त भएका थिए भने २२ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?