काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीमाथि अविश्वास प्रस्ताव दर्ता गरिएसँगै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र हलचल मच्चिएको छ ।
दुई दल मिलेर बनेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता पूर्ण रुपमा नटुंगिएका बाहिरै देखिने गरी गुट हावी हुनुले एकतामा केही असर पर्ने देखिन्छ ।
पूर्व माओवादी खेमाका मुख्यमन्त्री शाहीलाई पूर्व एमालेका १५ सांसद र पूर्व माओवादीका ३ गरी १८ सांसदहरुले अविश्वासको प्रस्ताव पेश गरे । केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबीच विवाद देखिएपनि प्रस्वाव दर्ता गर्ने बेला ओली नेपाल पक्ष प्रदेशमा मिलेर गएको देखिन्छ ।
आइतवार मुख्यमन्त्री माथि अविश्वास प्रस्ताव दर्ता गरेसँगै रुष्ट भएका पूर्व माओवादी खेमाले सोमवार बिहानै खुमलटारमा भेटघाट गरी त्यस विषयमा छलफल गरेको थियो । भेटघाटका क्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता माधव कुमार नेपाललाई त्यसले राम्रो सन्देश नजाने भएकाले प्रस्ताव फिर्ता लिनको लागि आग्रह गरेका थिए । त्यस्तै आज नै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली समक्ष कर्णाली विवाद समाधान गर्नको लागि आग्रह गरेका छन् । नेपालले उक्त प्रस्ताव फिर्ता लिन निर्देशन दिएको प्रतिक्रिया दिएपनि ओलीले भने त्यसबारेमा कुनै प्रतिक्रिया नदिएको स्रोतले जनाएको छ ।
७ प्रदेशमध्ये ४ वटा प्रदेशमा पूर्व एमालेको सरकार छ भने २ वटामा मात्रै पूर्व माओवादीको सरकार रहेको छ । ४० सदस्यीय कर्णाली प्रदेश सभामा साविक एमालेको २० जना रहेका छन् । त्यस्तै सुदूरपश्चिम प्रदेशमा पनि पूर्व एमालेकै बाहुल्यता रहेको छ ।
पार्टी एकिकरणको लागि गरिएको भागबण्डामा यस्ता क्रियाकलापहरुले समस्याहरु उत्पन्न गर्ने राजनीतिक विश्लेषकहरु बताउँछन् । पार्टी एकिकरण घोषणाको २९ महिना बितिसक्दा पनि पूर्ण रुपमा एकिकृत हुन नसकेको नेकपामा कर्णाली प्रदेश प्रकरणले केही महिना अध्यक्षद्वयको छलफल त्यतैतिर हुने देखिन्छ ।
पार्टीगत विवादमा रुमल्लिएको सरकारलाई थप एक छलफलको विषयवस्तु थपिएको कतिपय नेताहरुको टिप्पणी रहेको छ ।
पछिल्लो समय पार्टीको एकिकरण, रिक्त संवैधानिक तथा राजनीतिक नियुक्ती र मन्त्रिमण्डल पुनर्गठनको विषयलमा तल्लिन रहेका छन् । निरन्तरको भेटघाटले पनि कुनै निष्कर्ष दिन नसकेको अध्यक्षद्वयको बैठकमा थप एक विषय थपिनुले केन्द्रीय सरकार आम जनताको समस्या समाधान भन्दा पनि पार्टी विवादमा मात्रै सिमित हुने देखिन्छ ।
यी हुन मुख्यमन्त्री शाही विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदहरु
अविश्वासको प्रस्तावमा कर्णाली प्रदेशका प्रदेश सभा सदस्यहरु यामलाल कँडेल, प्रदेश सभाका उपसभामुख पुष्पा घर्तीमगर लगायत चन्द्र बहादुर शाही, करबिर शाही, कुर्मराज शाही, अम्मरबहादुर थापा, सुशीलकुमार थापा, मिना सिंङ रखाल, दानसिंह परियार, पदमबहादुर रोकाया, पदमा खड्का, कौशिलावति खत्री, राजु नेपाली, धर्मराज रेग्मी, खडकबहादुर खत्री, ठम्मर बहादुर विष्ट, बदमीक्वारी बोहोरा, देवी ओली रहेका छन् ।
अविश्वासको प्रस्ताव दर्ता गराएपछि सांसद यमलाल कँडेलले पत्रकारहरुसँग कुराकानी गर्दै संसदीय दलको नेतामा शाही निर्वाचित भएपछि पार्टी र सरकारको कामकारबाही फितलो भएकोले अविश्वासको प्रस्ताव दर्ता गर्नुपरेको बताए ।
तर यी मध्ये कतिपय सांसदहरुले भने केन्द्रबाट नै अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न दवाव आएको बाध्यता समेत सुनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया